बारा २ : जनमतले साँचो लिएर सम्पर्क विहीन भएपछि मतगणना रोकियो

काठमाडौँ । बारा २ को मतगणना रोकिएको छ । मतपेटिका राखिएको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लिएर सम्पर्क विहीन हुँदा हाल मतगणना रोकिएको हो ।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा पछि परेपछि उनका प्रतिनिधिले साँचो लिएर मतगणना स्थलबाट भागेको बताइएको छ ।
निर्वाचन आयोगका अनुसार हाल त्यहाँको मतगणना रोकिएको छ । पटक-पटक सम्पर्क गरेपनि जनमतका प्रतिनिधि मतगणना स्थल नआएको बताइएको छ ।
पछिल्लो मत परिणामअनुसार जसपा का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । उनले १२ हजार ११९ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् । कुशवाहाभन्दा यादव ४ हजार ४२६ मतले अगाडि रहेका छन् ।
तेस्रोमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ४ हजार १ सय १ मत प्राप्त गरेका छन् । चौथोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रमेश खरेलले १ हजार ८ सय ९५ मत पाएका छन् ।
आइतबार भएको मतदानमा बारा २ मा ६४ प्रतिशतको हाराहारीमा मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा गत मंसिरमा ६३.५६ प्रतिशत मत खसेको थियो ।








