विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप (तस्बिरहरु)

विराटनगर । विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्दै आएका पहिचानवादीहरुले शनिबार विराटनगरमा शव प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

पहिचानवादी आन्दोलनका क्रममा विराटनगरमा गत चैत १० गते मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोड शेषमा झडप भएकाे हाे ।

चैत ५ गते पनि विराटनगरमा कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने भन्दै गरेको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । त्यो बेला टाउकोमा चोट लागेका लिम्बु चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको भएपनि पहिचानवादीले आज शव सहित प्रदर्शन गरेका थिए । मृतकका परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । विभिन्न पक्षसँग भएको छलफलपछि आज शव उठाउने र धरान, इटहरी विराटनगरको परिक्रमा पछि अन्त्येष्टि गर्ने भनिएको थियो । त्यही क्रममा विराटनगरमा झडप भएको हो । झडपको क्रममा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको छ ।

      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *