महिला बेपत्ता पार्ने पाटेबाघलाई नियन्त्रणमा लिइयो (तस्बिरहरू)

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ । बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन् ।

प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो । टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अझै अज्ञात रहेको बताए ।

उनले नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगिने बताए। बेपत्ता भएकी महिलाको खोजी भइरहेको पनि डिएसपी डाँगीले बताए । शुक्रबार बाघको आक्रमणपछि बेलौरी-८ पचुँइका गङ्गादेवी चन्द बेपत्ता छिन् ।

चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए । घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो । बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो ।

सोही टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पु¥याइएको जानकारी दिइन् । कञ्चनपुरको दक्षिण क्षेत्रमा बाघ नियमित बस्ती वरपर देखिन थालेपछि वन कार्यालयले पनि यहाँ विभिन्न स्थानमा स्वभालित क्यामेरा जडान गरेर निगरानी गरिरहेकै बेला शुक्रबार उक्त घटना हुन पुगेको हो ।

केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि दक्षिण क्षेत्रमा निगरानी बढाइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *