प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीको भेटमा निष्कर्ष केही आएन : पदम गिरी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन । प्रधानमन्त्री दाहालले बुधबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय भएन ।

सो भेटको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले भने, अहिलेसम्म त्यस्तै – त्यस्तै छ । विभिन्न समसामयिक विषयमा कुराकानी भयो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरूसँग पनि छलफल गरे ।

प्रधानमन्त्री दाहाल र ओली बीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरूका बीचमा कुराकानी भएको बताए ।

छलफल भएपनि कुनै निष्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरू समक्ष गरेको उनको भनाइ छ ।

उनले भने, ‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडी बढाउने भन्ने विषयमा छलफल भयो । छलफल सघन ढंगले नै भयो तर पनि निष्कर्ष केही भएको छैन । त्यही ढङ्गले छलफल ग¥यौँ मात्रै भन्नुभयो । विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफल केन्द्रित थियो । त्यस विषयमा छलफल चाहीँ भयो निष्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो ।’

प्रमुख सचेतक गिरीले दुई नेताहरूका बीचमा कुनैपनि समझदारी बन्न नसकेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =