सांसद निशा डाँगीको स्वकीय सचिव बन्न ११६ जनाको आवेदन, लिखित परीक्षा लिएर छानिन् यी युवतीलाई

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीको स्वकीय सचिवमा पर्वतकी सुस्मिता क्षेत्री छनौट भएकी छन्। सांसद डाँगीको स्वकीय सचिव बन्नका लागि ११६ जनाले आवेदन दिएका थिए।
ती मध्ये ३५ जनालाई प्रारम्भिक चरणका लागि छनौट गरेकी थिइन्। प्रारम्भिक चरणमा छनौट भएका मध्ये १९ जनाले लिखित परीक्षा र अन्तर्वार्ता दिएका थिए।
लिखित परीक्षा र अन्तर्वार्तापछि डाँगीले सुस्मितालाई छनौट गरेकी हुन्। अरु दुई जना वैकल्पिक छन्। मोरङकी अपेक्षा सुवेदी र कास्कीकी कविता आचार्य वैकल्पिक छन्।
सुस्मितालाई ३ दिन भित्रमा सम्पर्क गर्न भनिएको छ। यदि सुस्मिता नगए वैकल्पिकले क्रमशः अवसर पाउनेछन्।
छनौट प्रक्रिया लिखित, मौखिक र प्रयोगात्मक कम्प्युटरबाट गरिएको थियो। कम्प्युटर परीक्षामा वर्ड एप्लिकेसन, इमेल, नेपाली टाइपिङ लगायतका दक्षता हेरिएको थियो।
लिखित परीक्षामा वर्तमान राजनीतिक एवं समसामयीक विषय सोधिएको सांसद डाँगीले जानकारी दिएकी छन्।
यस्तै उम्मेदवारको शैक्षिक पृष्ठभूमि, कानुन, समसामयिक विषयको जानकारी, सामाजिक राजनीतिक ज्ञान तथा कार्यअनुभव, नेतृत् वगर्ने क्षमता, काम गर्ने उत्प्रेरणा, प्राविधिक सिप, कार्य तत्परता र सिर्जनशीलताको आधारमा मुल्यांकन गरेको डाँगीले बताइन्,।
डाँगीले नेपालमै पहिलो पटक स्वकीयका लागि गत चैत १६ गते आवेदन माग गरेकी थिइन्। मंगलबार उनले नतिजा सार्वजनिक गरेकी हुन्।









