तिम्रो निर्जीव तस्बिरमा माल्यार्पण गरेँ, मलाई आशीर्वाद देऊ ल आमा ! 

आमाहरूले आफ्ना सन्तानका निम्ति गरेको त्याग, समर्पण अनि अमृतसरह आफूले पिएका दश धारा दूधको सम्मान गर्दै सन्तानहरूले आफ्ना आमाहरूलाई सम्झने दिन आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।

तर मेरा लागि औँसी साँच्चिकै औँसी को अन्धकार रात जस्तै हो, मेरो लागि जिन्दगीभर बाचुन्जेललाई पीडादायी भएर औँसी प्रति आक्रोश नै भइरहनेछ । नहोस् पनि कसरी ? जिन्दगीमा कहिल्यै नमेटिने घाउ दिएको छ औँसीले । सबैभन्दा प्यारो, आत्मीय, मायाको सागर,आफू मृत्युको मुखमा पुगेर मलाई जन्माउने ममतामयी आमालाई नै औँसीको दिन गुमाउनु परेको छ । औँसी सम्झनेबित्तिकै पीडा महसुस हुन्छ, मुटु पोल्छ, मनमा उकुसमुकुस हुन्छ । औँसीले जीवनमा अन्धकार बनाएपनि, आमा हुनेका लागि आजको औँसी विशेष हो ।

मेरा लागि तिमिलाई सम्झने, रुने कराउने, भित्तामा झुन्डिएको तिम्रो निर्जीव तस्बिरलाई हेर्दै मुसार्दै चिच्याउने अनि अन्त्यमा पागल मनलाई सम्झाएर आफै हिम्मत जुटाउने दिन । आमाको मुख हेर्ने दिन त आमा हुनेहरूको लागि पो खास हो ? त म जस्ता आमा गुमाएका टुहुरा सन्तानका लागि त कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ । घुमिफिरी थाकेको घाउमा नुन छर्न चाडबाडहरू आउँछन् आमा ! आज पात्रोमा तिथि उहीँ छ छैनौ त केबल तिमी । सबैले फेसबुकका भित्ताभरि आमासँग रमाएका तस्बिरहरू रङ्गाएका छन् अझै कति रङ्गाउने तरखरमा होलान् तर तिमी केवल मेरो स्मृतिमा, तिम्रो अभाव अनि कोठाभित्र झुन्डिएको सादा तस्बिर ।

तिमी साथमा नहुँदा पलपल टुक्रिनु परेको तितो क्षण तिम्रा यादका छालहरू सुनामी जसरी आइरहँदा तिमीलाई बिर्से झैँ गर्न खोज्छु । तिम्रो तस्बिरलाई नदेखे झैँ गर्छु तर, जीवनमा तिम्रो कमी निकै खट्किन्छ । यो मनले आज तिमिलाई झन् धेरै सम्झिरहेको छ आमा !! समय बलवान् हुँदोरहेछ । दैवको अगाडि मेरो मायाले रोक्न सकिन आमा !

सम्झना अझै ताजा छ आमा तिमीले धर्ती छोडेको दिन ।
मलाई एक्लै छोडी यमराजसँग नाता जोडेको दिन ।। 
म चिच्याइ रुँदा नसुनेझैँ तिमिले यात्रा मोडेको दिन ।
बेहोसी थिए विद्यताले लेखावटी भाग्य फोरेको दिन ।।

जुन दिन तिमिले छोडेर गयौ त्यो दिनबाट एक्लो छु आमा । तिमी भएको भए तिम्रो काखमा शिर राखेर कति कुरा भन्थे होला । कहिले दुखका आधिहुरी चल्छन् ,कहिले खुसीका बहार चल्छन् कसलाई सुनाऊ ? कहाँ जाऊ ? हुन्छ नि आमा तर, तिमी म देखि धेरै टाढा छौँ ।

आज तिमी साथमा नभएपनि परापूर्वकालदेखि मनाउँदै आइरहेको यस पर्वले कार्यव्यस्तताले टाढा रहेका छोराछोरीले आमा सम्झने र भेट्न आउने बाहाना बनाएको छ । सन्तानको लागि इच्छा आकाङ्क्षा र हरखुसी त्याग दिने आफ्ना हरेक दुःख लुकाएर सन्तानको लागि हाँसिदिने आमाहरूको सम्मानको लागि छुट्टाइएको आजको दिनले छुट्टै महत्त्व बोकेको छ । बिहे गरेर लामो समयसम्म माइत आउन नपाएका छोरीहरूलाई ‘निहुँ’ भएको छ । कामको सिलसिलामा टाढा भएका छोराछोरी नि मिष्ठान्न भोजन लत्ताकपडा बोकेर आमा भेट्न आउँछन् । भेट्न सम्भव नभएकाहरू नि फोनबाटै भएपनि आमाप्रतिको ममता झल्काइ आशीर्वाद लिन्छन् । झन् आजभोलि त व्यवहारिकतामा आमालाई हेला गर्नेहरू नि अरूलाई देखाउन कै लागि भएपनि औँसीमा फेसबुकमा पोस्ट गर्नुपर्छ भनेर आमाको फोटो राखिराख्ने गर्छन् ।

यसो गर्दा नि ३६४ दिन नसम्झे पनि एक दिन त आमा सम्झन्छन् । म जस्तै आमा गुमाएकाहरू नि आज ब्राह्मण तथा वृद्ध आमाहरूलाई मिष्ठान्न भोजन गराउने, दान गर्ने, जल अर्पण गर्ने प्रचलन छ । आजको दिनमा गरिएका दान आमाको हातमा पर्ने विश्वास छ । यही विश्वासलाई आधार मानेर टिलपिल टिलपिल भएका आँसुको छाललाई रोकेर मौन छु आमा ! मेरो मौन आवाजभित्रको बोलीले तिमिलाई नै पुकारिरहेकी छु आमा ।

परापूर्वकालदेखि नै मनाइँदै आएको यस मातातीर्थ औँसी ‘आमाको मुख हेर्ने दिन’मा मात्र सामाजिक सञ्जालका भित्ताहरूमा आमाका तस्बिरहरू खोजी खोजी टाँस्ने, देखावटी शुभकामना सन्देश छरपस्ट्याएर मात्र आमा तथा पर्वको महत्त्व हुन सक्दैन । वर्षभरि आमाको वास्ता नगर्ने, वृद्धाआश्रम राख्ने अनि एक दिन चाहिँ भएभरको ‘नखरा’ पारेर आमा भेट्न आउने, हालखबर बुझ्ने सन्तानहरूले चाहिँ यो पर्व तथा आमाको खिल्ली उडाए सरह हुनेछ । जति जे गर्नु छ जिउँदो छँदा नै गर्नुपर्छ, मरेपछि त जति चिच्याइ चिच्याइ रोए कराए नि आमा भेटिन्न । पृथ्वी नै दान गर्छु, करोडौँ खर्च गर्छु भनेपनि आमा पाइँदैन । मरेपछि श्राद्ध गर्दा दानमा मिष्ठान्न भोजन, लत्ताकपडा दिनुभन्दा जिउँदो छँदा नै मिठो र हँसिलो मुहारले दिएको दुई गाँस खानाको महत्त्व बढी हुन्छ ।

जन्मेपछि एक दिन अवश्य मर्नुपर्ने दैवको लीलालाई नकार्न न त मैले सके, न अरूले नै सक्छ । समयको चक्रलाई कसैले छिटो स्वीकार त कसैले ढिलो । आमा तिमिले नि त आफ्नो आमा गुमाएर म जस्तै छ्ट्पटिमा जिन्दगीको घुम्तीहरू मोडेऊ होला नि है ! अझ तिमीभन्दा म अलि भाग्यमानी रहेछु आमा कम्तीमा मेरो पालामा प्रविधिको विकास त भएको छ। केही नभएपनि तिमिसँग बिताएका पलहरू त मोबाइलमा कैद गरेकी छु, जब म एक्लो हुन्छु तब तिम्रा याद, तिमीसँग बिताएका पलहरू सँगालेको मोबाइलको ग्यालरी खोल्छु । एक्लै रुन्छु, कराउँछु, तड्पिन्छु तिमी मसँग नभएपनि मलाई हेरिरहेकी त छेउ नि आमा ? थाहा छ आमा ! अरू कोही कसैले आफ्नो आमालाई आमा भनी बोलाउँदा म कति जल्छु, मलाई कति पीडा हुन्छ । कोही पनि बच्चा टुहुरो नहोस्, आमा बिनाको घर नहोस् अनि आमा घरविहीन नहुन, सम्पूर्ण आमाहरूमा नमन ।

मेरी आमा जहाँ भएपनि मलाई हेरिरहनेछिन्, मलाई देखिरहनेछिन् । म तिम्रो सामु हुन नसकेपनि विद्यताले भाग्य फोरेर आमाको काख रित्याएपनि हरपल-हरक्षण म मिस गरिरहेकी छु आमा । म तिम्रो निर्जीव तस्बिरमा माल्यर्पण गरेर मुख हेर्छु, तिमी मलाई आशीर्वाद देऊ ल । यदि अर्को जुनी रहेछ र पाएछु भने मेरी आमा तिमी जे को जुनी भाछेउ म नि त्यही जुनी लिएर तिम्रै छोरी भएर तिम्रै कोखबाट जन्मन पाउ अनि मातातीर्थ औँसी पनिसँगै बसेर मनाउन पाउ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *