नो पार्किङबाट पछि हटेको महानगरले पार्किङ स्थलमा सिसी क्यामेरा राख्यो

 

विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङ स्थलमा सिसी क्यामेरा जडान गरेको छ । पार्किङ स्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ । व्यापारीहरूले पार्किङ स्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । पार्किङ स्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो ।

अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने मेयर नागेश कोइरालाले जानकारी दिए । सिसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ । सिसी क्यामेरा जडानसहित पार्किङ स्थलमा गिट्टी राखेर समाउने, बत्ती जडान गर्ने, पार्किङ स्थलमा जाने नालीमाथि स्लाब राख्नेलगायतका कार्य सकिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।

महानगरले जलजला चोक पूर्व (साबिक जुत्ता मेला लागेको ठाउँ) ग्रिन क्रस अस्पताल पछाडि, शनि मन्दिर दक्षिण तथा महावीर रोड उत्तर, पुरानो गुद्री, बुधहाटचोकस्थित वी प्लट, महावीर रोड र वी प्लटको बिचमा रहेको खाली जग्गा, आन्तरिक राजस्व कार्यालय अगाडिबाट पूर्व, संसारीमाईस्थान, हिमालय रोडस्थित मैनाली पुस्तक पसल अगाडिको बर्सना कम्प्लेक्सको अन्डरग्राउन्ड पार्किङका लागि तयारी गरिसकेको छ ।

पार्किङ स्थलमा अब कुनै समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । शनि मन्दिरदेखि अस्पताल चोक, जलजला चोकदेखि ट्राफिक चोक हुँदै संसारीमाईस्थान, महावीर रोड, गुद्री रोड, शनि मन्दिरदेखि महावीर रोड, कलेज रोड र हिमालयरोडलाई पार्किङ निषेध महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन मेयर कोइरालाले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *