विना सर्त खुल्यो पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको नाममा भएको तालाबन्दी खुलेको छ । संघले २०७९ मंसिर १ गतेदेखि विभिन्न माग राखी विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको थियो ।

प्राध्यापक संघले एक प्रेस विज्ञप्ति जारी गर्दै मंसिर १ गतेदेखि विभिन्न माग राख्दै गरिएको तालाबन्दी तथा मिति २०७९ चैत २२ गते देखिको धर्ना तथा विरोधका आन्दोलनको कार्यक्रमहरू भईरहेको अवस्थामा विश्वविद्यालयबाट गठन गरिएको वार्ता समिति र पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ बिच भएको सहमति बमोजिम तालाबन्दी खोल्ने सहमति भएको उल्लेख गरिएको ।

प्राध्यापक संघलाई स–सम्मान स्वीकार गर्ने तथा अन्य मागहरू आपसी समझदारीमा २०८० वैशाख मसान्तसम्ममा कार्यान्वयन गर्ने सहमति भएको प्राध्यापक संघका महासचिव प्रमोद यादवले जानकारी दिए । प्राध्यापक संघले हाललाई आजैदेखि आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको उनले जानकारी दिए । गत असोज २ गते भएको प्राध्यापक संघको अधिवेशनबाट यज्ञप्रसाद जमरकटेललाई मान्यता दिइने भनिएपछि आन्दोलनका कार्यक्रमहरू स्थगित भएको उनले जानकारी दिए ।

प्राध्यापक संघले विभिन्न माग राख्दै आएको भए पनि प्राध्यापक संघले आफ्नो वैधानिकता खोज्दै आएको थियो । नेपाल प्राध्यापक संघले सन्देशदास श्रेष्ठ नेतृत्वले चुनावी प्रक्रियामा गएर नयाँ समितिलाई पदभार हस्तान्तरण गर्नुपर्ने भन्दै यज्ञप्रसाद नेतृत्वको प्राध्यापक संघलाई वैधता दिन नसक्ने भन्दै आएको थियो ।

नेपाल प्राध्यापक संघको पत्रको आधारमा पूर्वाञ्चल विश्वविद्यालयले कट्टेल नेतृत्वको प्राध्यापक संघलाई आधिकारिकता दिएको थिएन । बाहिर हेर्दा विभिन्न मागहरू राखेर विश्वविद्यालय सुधार गर्न खोजेको जस्तो देखिए पनि भित्री रूपमा प्राध्यापक संघको नयाँ पदाधिकारीहरूलाई संघको रूपमा आधिकारिकता नदिएको भन्दै प्राध्यापक संघले तालाबन्दी गर्दै आएका थिए ।

विश्वविद्यालयको तर्फबाट वार्ता समिति बनाइएकोमा समितिले गरेको छलफलबाट आन्दोलनका कार्यक्रमहरू फिर्ता दिइएको संघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *