जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताए ।

आइतबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिस्पर्धा गर्नु भनेको देश, जनता, कानून, संविधानलाई ढाँट्नु भएको बताए । उनले नेकपा एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरूको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताए । उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए । उनले रास्वपा सभापति लामिछाने अर्ग्यानिक क्याण्डिडेट नभएको बताए । उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध गरे ।

उनले भने, ‘हामी नेकपा एमालेलाई त जनताले प्रश्न गर्छन्, गर्नुपर्छ । हामीलाई जे प्रश्न आएका छन्, करिव ७० वर्षको अन्तरालमा आएका प्रश्न हुन् । तर रवि लामिछानेजीलाई ७० वर्ष होइन, ७ महिना पनि परेन । यति छोटो समयमा हामीलाई भन्दा धेरै प्रश्न आइसकेका छन् । त्यसैले उनले दिएका भ्रष्टाचारविरुद्धका नारा, सुशासनका नाराहरू यी सबै बेकार हुन् । यी सबै जनतालाई भ्रममा पार्ने कुरा हुन् । उनी कुनै भर्जिन, अर्ग्यानिक क्याण्डिडेट होइन । उनको व्यक्तिगत कुरा सबै मान्छेले देखिरहेका नै छन् । उनको पार्टीमा केके भइरहेको छ, अडियो काण्ड आइरहेका नै छन् । कसरी उनले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरे, भोलिपल्ट मन्त्री पद छोड्नुपर्ने भयो । अघिल्लो दिन हतारहतार फाइलहरू किन स्वीकृत भए । यी प्रश्न छन् । एउटा सभ्य समाजमा मान्छेले गल्ती गर्न सक्छ, त्यसप्रति माफी पनि हुन्छ । तर सभ्य समाजलाई ढाँट्ने कुरा ठुलो अपराध हो । रवि लामिछानेजीले गल्ती गर्नुभएको होइन, ढाँटेको हो । समाज र राज्यलाई ढाँटेको हो । सिंगो मुलुकलाई ढाँटेको हो । कानून, संविधान यी सबै कुरालाई ढाँट्नुभएको हो । उहाँले ५ वर्ष ढाँटेकोप्रतिको प्रायश्चित गर्नुपर्ने थियो । तर अहिले चुनाव लडिरहनुभएको छ । त्यसले कस्तो राजनीतिकर्मी अघि बढाउने हो भन्ने कुरा हो ।’

सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *