संसद बाहिर एमाले सांसदहरुको प्रतिक्रिया, कसले के भने ?

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदको विषयगत समितिहरू बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले विषयगत समितिहरू बन्न नसक्दा विधेयकहरु अगाडी बढ्न नसकेको बताए । उनले समिति नहुँदा समग्र संसदीय प्रक्रियामा नै गतिरोध उत्पन्न भएको उल्लेख गर्दै समिति निर्माणमा दलहरू जिम्मेवार बन्नुपर्ने बताए । उनले तत्काल समिति बनाउनुपर्ने माग गरे । त्यस्तै सचेतक बर्तौला ले प्रधानमन्त्री सांसदसँग डराएको भन्दै प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ सांसदबाट दिनुपर्ने बताए ।

उनले भने ‘एमालेको तर्फबाट विषयगत समितिमा रहने सांसदहरूको नाम टुङ्ग्याइसकेका छौँ । भोलि बिहानसम्म हामी सभामुखलाई हस्तान्तरण पनि गर्छौँ । यो प्रक्रियामा अन्य दलहरुपनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ । छिटो अगाडी बढाउनुपर्छ । यो नबन्दाखेर धेरै विषयहरू अन्यौलतामा परेको छ । संसदमा विचाराधीन भएका वा टेबल भएका कयौँ विधेयकहरूले छलफलको कोर्समा जान सकेन । यो भनेको समग्र संसदीय प्रक्रियामाथिकै गतिरोध हो । सांसदले नियमित समयमा सम्पन्न गर्नुपर्ने कामहरू सम्पन्न गर्ने सामर्थ्यमा यसले सामथ्र्य गुमाएको छ । सबै कुरा रोकिएको छ । तत्काल विषयगत समिति निर्माण गरौँ । कार्यपालिकाले सांसदलाई छलेर हिँड्नु हुँदैन । सदनदेखि प्रधानमन्त्री डराउनु हुँदैन । सांसदहरूले उठाएका देश र जनता केन्द्रित मुद्दाहरूको बारेमा सदनमा आएर जवाफ दिने आँट, हिम्मत प्रधानमन्त्रीले गर्नुपर्छ । तर उहाँले यो हिम्मत गरिरहनुभएको छैन । प्रधानमन्त्रीले र मन्त्रीहरूले नियमित रूपमा सांसदको प्रश्नको जवाफ दिनुपर्छ । सरकार सांसदप्रति पूर्ण जबाफदेही हुनुपर्छ ।’

त्यस्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा(एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले सरकारसँग संसद चलाउने कुनै योजना नभएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुङ्ग्याउन नचाहेको बताए । प्रधानमन्त्रीले शान्ति प्रक्रिया टुङ्ग्याउन नचाहेको उनले आरोप लगाए ।

उनले भने ‘बिजनेस सरकारले दिने हो । यो सरकारसँग संसद चलाउने कुनै योजना नै छैन । दृष्टिकोण नै छैन । सांसदलाई कसरी व्यस्त बनाउने । सत्य निरूपण, मेलमिलाप आयोगसँग सम्बन्धित विधेयक जुन छ । त्यसमा प्रतिपक्षी दलसँग सामान्य छलफल पनि नगरीकन उहाँहरुले अगाडी सार्नुभयो । त्यसलाई समितिमा लगेर छलफल गरेर टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो धारणा थियो । उहाँहरूले त्यति संवेदनशील विषयलाई पनि टुङ्ग्याउन चाहनुभएन र बाहिर बाहिर शान्ति प्रक्रिया भनेर भाषण गर्नुहुन्छ । शान्ति प्रक्रिया भन्ने कुरा प्रचण्डको मागी खाने भाँडो भइसकेको छ । बेला बेला अलि अपmअप्ठ्यारो प¥यो भने शान्ति प्रक्रिया भन्ने । सरकारमा गएपछि शान्ति प्रक्रिया सबै बिर्सिने ।’

त्यस्तै, नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सरकारले देश र जनताको अहित हुने काम गरेमा आफूहरूले खबरदारी गर्ने बत्ताउँछन् । उनले एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गरिरहने बताए ।

उनले भने ‘सांसदलाई छलेर बाहिर विषयवस्तु छर्ने र जनतालाई निराशाको गर्तमा पुग्ने गरी गविविधिहरु गर्ने । देश र जनतालाई अहित हुने प्रकृतिको काम गर्ने, देशको राष्ट्रियतालाई कमजोर गराउने र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा समेत प्रश्न खडा गर्ने । यो खालको स्थिति बन्नुहुँदैन । एमाले प्रमुख प्रतिपक्ष दलको हिसाबले सरकारको गलत कामको आलोचना गर्छौ । खबरदारी गर्छौँ । सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ ।’

एमाले सांसद राजेन्द्रकुमार राईले वर्तमान सत्तारुढ गठबन्धन राष्ट्र र जनताप्रति जिम्मेवार नभएकाले जुनकुनै समयमा ढल्न सक्ने बताए ।
उनले भने‘यो सरकार राष्ट्र र जनताप्रति जिम्मेवार नभएको हुनाले जहिले पनि यो गठबन्धन ढल्न सक्छ । गठबन्धनमा आन्तरिक किचलो, एक अर्कामा विश्वास नहुने वातावरण म देख्छु । मुलुकको विकासमा दुई ठूला पार्टीहरू एकताबद्ध भएर जाँदा राम्रो हुन्छ ।’

उनले मुलुकको विकासका लागि दुई ठुला पार्टीहरू नेपाली काँग्रेस र नेकपा एमाले एकताबद्ध भएर जाँदा राम्रो हुने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *