सन्तश्री शम्भुशरण लाटा जीद्वारा ‘श्री राम कथा’ : राम राज्य कसरी बनाउने ?

कठमाडौँ । काठमाडौँकाे न्युरोडस्थित मारवाडी सेवा समिति भवनमा सन्तश्री शम्भुशरण लाटा जीद्वारा ‘श्री राम कथा’को प्रवचन भइरहेको छ ।  भगवान श्री रामको कथा सुन्न उक्त प्रवचन कार्यक्रममा धेरै संख्यामा भक्तजनको ओइरो लाग्ने गर्छन् ।

सन्तश्री शम्भुशरण लाटा जी वि.सं. १९९४ मा नेपाल आएर पहिलो पटक विराटनगरमा ‘राम कथा’ वाचन गरेका थिए । त्यसपछि भद्रपुरमा उनको दोस्रो वाचन भएको थियो । काठमाडौँमा भएको यस प्रवचन उनको तेस्रो प्रवचन हो ।

उनले भक्तजनलाई रामका कथा, जीवनी र सन्देश सुनाउने गरेका छन् । रामको कथामा जीवन राम्ररी चलाउने प्रेरणा पाउने उनको भनाइ छ । उनका अनुसार रामकथा सुनेमा पति, पत्नि, आमा र भाइले आ–आफ्नो कर्तव्यको बोध गर्नेछन् ।

उनी भन्छन्, ‘आफ्नो जीवन राम्ररी चलाउन प्रेरणा मिल्छ । आमा, बुबा, पति, पत्नी, दाजु, भाइलगायत परिवारका सदस्यहरू कस्ताे हुनुपर्छ यही कुरा कुरा सिक्न सकिन्छ ।’

पारिवारिक कर्तव्य बोध गराउने रामकथाका रामले स्वयम आफ्नी पत्नि सीतालाई त्यागेका थिए । वास्तवमा रामबाट त्यागिनु सीताकै इच्छा रहेको उनी बताउँछन् ।

उनले भने, ‘त्यो स्वयं सीता जीको इच्छा थियो । उनको यो संसार छोडेर जाने समय भइसकेको थियो । उनको आयु पूरा भएको थियो । त्यसैले उनले बालमीकी आश्रममा जाने इच्छा गरिन् र रामले उनको इच्छा पूरा गरिदिए ।’

रामको राज्यमा जनता सुखी, शान्ति र खुसी थिए । त्यसैले हरकोही रामराज्यको चाह गर्छन् । वर्तमान युगको राजनीति देख्दा रामराज्य एकदमै आवश्यक पनि देखिन्छ ।

मानिसभित्र रामको लक्षण भएमा सुखी हुनसक्ने सन्तश्री शम्भुशरण लाटाको भनाइ छ । उनका अनुसार कसैसँग विवाद नर्गनु, आफू ठुलो हुँ भन्ने घमण्ड नगर्नु नै रामको लक्षण हो । त्यसैले रामराज्यको निर्माण गर्न विवाद र घमण्डलाई त्याग्नुपर्ने उनको भनाइ छ ।

उनले भने,  ‘रामायणमा काेहीकसैसँग विवाद नगर्नु भनिएको छ । म ठुलो हूँ । यो सानो हो भन्ने भाव राख्नु हुदैन् । यस्तो भयो भने कसैसँग पनि विवाद हुँदैन र झगडा हुँदैन् । हामी मरेपछि केही लैजान सक्दैनौँ भन्ने बुझाइ राख्नु पर्दछ । त्यसो गरे रामराज्य निर्माण हुन्छ ।’

उनले सबैको मरण अवश्य भएकाले कसैसँग व्यर्थमा विवाद, झगडा र रिस नगर्न भनेका छन् ।

संसारमा धेरै धर्म रहेका र ती धर्मको निर्माता भएको बताए । तर हिन्दु धर्म आदिकालदेखि चल्दैआएको उनको भनाइ छ । उनका अनुसार सबैजना सुखी हुनु, कोही आफूबाट दु:खी नहाेउन् भन्ने चाहनु नै हिन्दु धर्म हो । त्यसैले आफ्नो धर्मसँग जोडिरहन उनले सबैलाई आग्रह गरेका छन् ।

भगवानकाे शरणामा पर्ने सबैको आशा पूरा हुने उनी बताउँछन् ।

उनले भने, ‘सबैजना भगवानको शरणमा रहनू, पशुपतिनाथले सबैको इच्छा पूरा गर्नुहुन्छ । भगवान सबैको आशा पूरा गरून्, मेरो यही आशिर्वाद छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =