धरानमा पर्या साहित्य विमर्श सम्पन्न

धरान । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा पर्या साहित्यकार विजय हितानको उपस्थितिमा पर्या साहित्यमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पसको सृजना विमर्श समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमको सुरुमा एमए अङ्ग्रेजीमा कविता प्राध्यापन गर्ने मनकुमार राईले विजय हितानद्वारा सम्पादित पर्या कविता संग्रह स्वच्छन्द सुसेलीहरू २ भित्रको ‘इको प्रेम पत्र’ कविता वाचन गरेका थिए । नेपाली पर्या साहित्यको अङ्ग्रेजी भाषामा अनुसन्धान लेखन गर्दैगरेकी उपप्राध्यापक अनुपा वाग्लेले हितानका कथाको शक्तिमाथि प्रकाश पारेपछि पर्या साहित्य प्राध्यापनरत उपप्राध्यापक डाक्टर अस्मिता विष्टले हितानकृत ‘ब्लु प्लानेट’ का १५ वटै कथाहरूमाथि समालोचनात्मक विचार राख्दै सबै कथाहरूले पृथ्वीको पारिस्थितिक सन्तुलन गुम्न गइरहेको कुरालाई आख्यानिक तरिकाले अभिव्यक्त गर्न सफल रहेको भएपनि केही कथाहरूमा वातावरणीय समस्यालाई विवरणको रूपमा मात्र प्रस्तुत गरेको बताइन् ।

विजय हितानले पर्यावरण साहित्यको आवश्यकता र महत्त्वका बारेमा प्रकाश पार्दै अबको संसारमा मानव अस्तित्वलाई जोगाई राख्न पनि पर्यावरणीय साहित्य लेखन अति आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली विभाग प्रमुख उपप्राध्यापक डाक्टर दीपकप्रसाद न्यौपानेले डायस्पोरामा बसेर पनि नेपाली साहित्यको केन्द्रमा पर्या साहित्य स्थापित हुनुमा पर्यावरणविद् तथा लेखक विजय हितानको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

कार्यक्रमको सभापतित्व अङ्ग्रेजी विभागका प्रमुख सहप्राध्यापक डा. मोहन कुमार तुम्वाहॅाग र यसको  संयोजन/संचालन सहप्राध्यापक डाक्टर राम्जी तिमल्सिनाले गरेका थिए ।

प्रतिक्रिया

One thought on “धरानमा पर्या साहित्य विमर्श सम्पन्न

  1. धरानमा पर्यासाहित्य विमर्श उपलब्धिमूलक भएको बुझ्न पाउँदा खुसी लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *