यती एअरलाइन्सको सस्तो टिकटमा पनि माइलेज प्वाइन्ट पाइने

काठमाडौँ । नयाँ वर्षको अवसरमा यती एअरलाइन्सले आजदेखि लागू हुनेगरी आफ्नो स्काई क्लबका सदस्यहरूलाई जुनसुकै क्याटेगरीको टिकट खरिदमा पनि निश्चित माइलेज प्वाइन्ट दिने भएको छ । यसअघि यात्रुहरूले NYG (Normal, Yellow & Green) टिकटमा मात्र माइलेज प्वाइन्ट पाउने सुविधा थियो ।
अब वैशाख १ पछि खरिद हुने सबैभन्दा सस्तो टिकटमा पनि यो सुविधा पाइने कम्पनीले जनाएको छ । ‘अहिले यती एअरलाइन्सको ७ वटा fare categories रहेका छन्, हालसम्म हामीले अलि महँगो टिकटहरूमा मात्र माइलेज प्वाइन्ट दिने गरेका थियौँ भने यात्रुहरूको मागलाई ध्यानमा राखी अब सबै किसिमका भाडामा माइलेज प्वाइन्ट दिने व्यवस्था मिलाएका छौँ,’ यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने ।
उनले यस्तो क्लब कार्ड यात्रामा मात्र नभई अन्य सुविधा प्राप्त गर्न पनि सकिने भएकोले यात्रुहरूलाई आजै यती स्काई क्लबको सदस्यता लिई सुविधा उपभोग गर्न अनुरोध गरेका छन् । स्काई क्लबको सदस्यता लिई यतीबाट यात्रा गर्दा प्रत्येक उडानमा निश्चित माइलेज प्वाइन्ट पाइने र सो जम्मा भएको प्वाइन्ट प्रयोगगरी जुनसुकै गन्तव्यमा निःशुल्क उड्न पाउने व्यवस्था सहित सन् २०११ मा यती एअरलाइन्सले आफ्ना यात्रुहरूलाई लक्षित गरी ‘यती स्काई क्लबlको स्थापना गरेको थियो ।
यतीमा हालसम्म एक लाख १० हजारभन्दा बढी यस्ता क्लब सदस्यहरूले यो सुविधा उपभोग गरिरहेका छन् । स्काई क्लबका सदस्यहरूले निःशुल्क यात्रा गर्ने मात्र नभई विभिन्न होटल, रेष्टुरेण्ट, अस्पताल लगायत डिपार्टमेन्टल स्टोरहरूमा विशेष छुटको सुविधा लिइरहेका छन् । यो क्लबको सदस्यता लिन र यसबारे थप जानकारी एअरलाइन्सको वेबसाइट र मोबाइल एप्सबाट लिन सकिने कम्पनीले जनाएको छ ।








