वैशाख १ देखि विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध

विराटनगर । विराटनगरलाई महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक र्‍याली निकालेको छ। विगत २ वर्ष पहिला प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुरु गरेको यस्तै प्रकृतिको कार्यक्रमलाई तत्कालीन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले असहयोग गरेका थिए । महानगरपालिका सहित प्रदेश सरकारले संयुक्त रूपमा सञ्चालन गर्ने गरी सुरु भएको अभियानमा महानगरले असहयोग गरेको थियो । तर अहिले त्यही खालको कार्यक्रम महानगरपालिकाले सुरु गरेको छ।

वैशाख १ गतेदेखि विराटनगरलाई सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गर्ने भएको छ। त्यसैको अभियानको रूपमा बिहीबार र्‍याली निकालेको हो । महानगर परिसरबाट सुरु भएको प्रभात फेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताए । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्यमा समेत ह्रास आएको उनको भनाइ थियो ।

‘महानगरले सरसफाइ अभियान पनि सञ्चालन गरिरहेको छ । सपाइका क्रममा नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोलहरू भेटिएको छ,’ बस्नेतले भने, ‘महानगरले सुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।’

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताए । उनले महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरे कानुनीले तोकेको कारबाही हुने प्रजिअ भट्टराईको भनाइ थियो ।

‘महानगरले सुरु गरेको यो अभियान अत्यन्तै राम्रो छ, यसमा सबैले साथ दिनुपर्छ,’ उनले थपे, ‘यदि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा कानुनले तोकेअनुसारको कारबाही हुनेछ ।’

उनले अभियानलाई प्रशासनको तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू, बसपार्क र बसहरूमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन ।

‘नगर सभाले गरेको निर्णयलाई वैशाख १ गतेबाट कडाइका साथ कार्यान्वयनमा ल्याउँदैछौँ,’ उनले भने, ‘आजको कार्यक्रममा आदरणीय मेयर साब र उपमेयर साब सहभागी हुन सक्नु भएन । उहाँहरू विदेशी दातृ निकायहरूसँग छलफल गर्न काठमाडौँमा हुनुहुन्छ । उहाँहरूको तर्फबाट पनि म शुभकामना व्यक्त गर्दछु ।’

कसैले सेवन गर्न चाहेमा सुरक्षित तबरले अरूलाई हानी नहुने गरी सेवन गर्न सक्ने उनको भनाइ थियो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले महानगरवासीलाई जानकारी दिने उद्देश्यले प्रभात फेरी आयोजना गरिएको जानकारी दिए । प्रभात फेरीमा विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ५ सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० अर्जुन गिरी, ११ का तीर्थचन्द्र न्यौपाने, १४ का सूर्यनारायण महतोका साथै कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरका महाशाखा र शाखा प्रमुखहरू, विभिन्न कलेज, विद्यालय, नर्सिङ कलेज, हेल्थ कलेजका विद्यार्थीका साथै जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको समेत सहभागिता रहेको थियो ।

मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने बताउँदै आएका छन् । उनले विराटनगर सबैको भएकाले व्यवस्थित बनाउन महानगरवासीलाई सहयोग गर्न पटक–पटक आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

One thought on “वैशाख १ देखि विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध

  1. यो स्वागतयोग्य कदम हो । काठमाडौंमा यो कदम चालेको धेरै भयो । तर व्यवहारमा यो लागू नभएको सरह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *