आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट ल्याउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र बिग्रिएको अवस्थामा सरकारले जनमुखी बजेट ल्याएर बजारकाे माग लक्षित साना घरेलु उद्योगलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउने र व्यापार घाटा कम गर्नेगरी नीतिगत निर्णय गरेर जानू पर्ने अवस्था रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै कार्कीले देशकाे आर्थिक अवस्था कमजोर बनेको र रेमिट्यान्सकाे भरमा देश चल्ने अवस्था आउनु राम्रो नभएको बताए ।

`सरकारकाे नीतिका कारण नेपाली उद्योगी धरासायी भएर भाग्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘तरलताका नाममा १४-१५ प्रतिशत ब्याज तिर्न नसकेर उद्यमी व्यवसायी भाग्नु पर्ने अवस्था आएको छ ।´

उनले बैङ्कको ब्याजदर घटाएर व्यवसायी मैत्री वातावरण बनाउन संघीय सरकारले वातावरण बनाउनु पर्नेमा जोड दिए । अहिले बैंकहरू र केही अन्तर्राष्ट्रिय व्यापारी मोटाउने नीति संघीय सरकारले लिइदिँदा स्थानीय व्यापारी भाग्ने अवस्था आएको बताए ।

`आयात बढेको छ, निर्यात बढ्न सकेको छैन, उनले भने, नेपालको उद्योग धन्दालाई कमजोर बनाउने खालको नीति संघीय सरकारले बनाएको कारण उद्योगी धराशायी बनाउने काम भएको छ ।´

उनले मोरङमा रहेका घरेलु तथा साना उद्योगको सङ्ख्या तथ्यांकका आधारमा उत्पादनको अवस्थामा बजारकाे खोजी गर्ने काममा प्रदेश सरकारले सहयाेग गर्न सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *