विराटनगरमा मोटरसाइकल चोरीको शृङ्खला, पार्किङस्थल नै असुरक्षित !

विराटनगर । मोरङमा पछिल्ला दिनहरूमा मोटरसाइकल चोरीका घटना बढ्दै जान थालेका छन् । राती घरमा राखिएका मोटरसाइकलदेखि सुपर मार्केट, पार्किङ स्थल तथा सुरक्षित मानिएका ठाउँहरुपनि असुरक्षित बन्दै जान थालेका छन् । कुनै कार्यालयमा काम परेर गयो, भित्र पसेर बाहिर निस्कँदा मोटरसाइकल हराई सकेको हुन्छ ।

कुनै पसलमा सामान किन्न गयो त्यहीँबाट मोटरसाइकल गायब हुन्छ । कुनै कामको सिलसिलामा गयो काम गरेर फर्किँदै गर्दा मोटरसाइकल बेपत्ता हुँदै आएको घटना विराटनगरका लागि सामान्य जस्तै हुन थालेका छन् । विराटनगरमा बढेको चोरीको घटनाबाट नागरिक असुरक्षित हुँदै गएका छन् । विराटनगर महानगरपालिकामा चोरी भएका यी तीन घटनाले  पार्किङ गरेर राखिएका अधिकांश ठाउँ असुरक्षित देखिएको छ ।

घटना १ 
गत फागुन १० गते विराटनगर महानगरपालिका वडा नं. ७ स्थित मालपोत कार्यालय अगाडीबाट विराटनगर ४ का बम बहादुर खवासको को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी भयो । मालपोत कार्यालय बाहिर पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएपछि उनले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

घटना २
मिति २०७९ चैत २४ विराटनगर महानगरपालिका वडा नं. १६ मा पार्किङ  गरी राखेको मोटरसाइकल चोरी भयो । जोगवनी नजिकै नेपाल तर्फ पार्किङ गरेर राखिएको अवस्थामा सप्तरीको कञ्चनपुर बस्ने केशवप्रसाद गुप्ताको प्रदेश २–०२–००३ प ५२५९ नम्बरको मोटरसाइकल चोरी भयो । कामको सिलसिलामा त्यहाँ पुगेका गुप्ताको मोटरसाइकल चोरी भएपछि उनी तनावमा देखिए । उनले तत्काल प्रहरीलाई खबर गरे पनि मोटरसाइकल भेटिने नभेटिनेमा उनी अन्योलमै घर फर्किए ।

घटना ३
मिति २०७९ माघ २१ गते विराटनगर महानगरपालिका वडा नं. २ स्थित सेन्ट्रल मलको पार्किङस्थलबाट स्कुटर चोरी भयो । विराटनगर महानगरपालिका वडा नं. ४ कञ्चनवारि बस्ने सुरेन्द्र कार्कीले  पार्किङ गरी राखेको को २७ प ६९४९ नम्बरको स्कुटर चोरी भएको थियो । सुपर मार्केट तथा मलहरूमा पार्किङ सुरक्षित होला भनेर राखेका कार्कीको स्कुटर पार्किङ स्थलबाट नै हराएको थियो । मलमा सुरक्षा गार्ड थिए, त्यहाँबाट करिब एक सय मिटरको दुरीमा वडा प्रहरी कार्यालय छ । सुपर मार्केटमा सी सी क्यामेरा हुन्छ तर त्यस्तो ठाउँबाट पनि स्कुटर हराएपछि उनले प्रहरीलाई जानकारी गराएका थिए ।

चोर पक्राउ
यी उदाहरण मात्र हुन् । यस्ता घटना विराटनगरमा हरेक दिन हुने गरेको छ। पछिल्ला दिनहरूमा विराटनगरमा मोटरसाइकल चोरीका घटनाहरू बढ्दै गएको छ। दुई पाङ्ग्रे सवारी साधनहरू चोरी हुने क्रम बढेको देखिन्छ ।

लार्खौँ हालेर किनिएका मोटरसाइकलहरु नै चोरी हुन थालेपछि प्रहरीमा यस्ता चोरीका घटनाहरू दैनिक आउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना बढ्दै जान थालेपछि प्रहरीले विशेष ब्युरो नै गठन गरेर मोटरसाइकल चोरी नियन्त्रण अभियान चलाएको छ । त्यस क्रममा प्रहरीले एकैदिन ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

घटना नम्बर १सँग जोडिएर मालपोत कार्यालय अगाडीबाट चोरिएको मोटरसाइकल सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरीको देवानगञ्ज गाउँपालिका ३ बस्ने वर्ष १८ को राजकुमार यादव, भारतको अररिया जिल्ला लक्ष्मीपुर १० बस्ने वर्ष २५ को सुनिलकुमार यादव र भारतको पोसदाह पञ्चायत बस्ने वर्ष २५ को शौरभकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले घटना नम्बर २ सँग जोडिएर जोगवनीबाट मोटरसाइकल चोरीमा संलग्न रहेका सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका ६ बस्ने वर्ष २० को सुमनकुमार यादवलाई पक्राउ गरेको छ ।

सेन्ट्रल मलको पार्किङ  स्थलमा राखिएको स्कुटर चोरी गर्ने विराटनगर महानगरपालिका  १२ का दिनेश साह र सञ्जय साह रहेका छन् । पक्राउ परेका पाँचै जनाको साथबाट चोरी भएका मोटरसाइकल नियन्त्रणमा लिएको डिएसपी दाहालले जानकारी दिए । उनीहरू विरुद्ध चोरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूबाट चोरी गर्न प्रयोग हुने मास्टर कि ५ थान र नक्कली नम्बर प्लेट १ सेट समेत बरामद भएका छ । चोरी गरेका मोटरसाइकलहरू पहाडी जिल्लाका दुर्गम स्थान, सुनसरी जिल्लाका ग्रामीण क्षेत्र  र भारतका विभिन्न स्थानहरूमा पु-याई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चोरी गरेका मोटरसाइकलहरू नेपाल–भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार तथा लागू औषध ओसारपसार गर्न र यस्ता मोटरसाइकलका इन्जिनहरू पानी तान्ने मोटरको रूपमा प्रयोग गर्न समेत यस्ता गिरोहले बिक्री गर्ने गरेको प्रवक्ता दाहालको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *