सम्झौताको १ वर्षपछि देशकै नमुना सडक निर्माणको शिलान्यास

पोखरा । देशकै नमुना सडकको रूपमा स्तरोन्नति गर्न लागिएको तालचोक देखि बेगनासताल खण्ड पुनः शिलान्यास गरिएको छ । यसअघि पनि पटक पटक शिलान्यास गरेर काम रोकिएको यो खण्ड पोखराका मेयर धनराज आचार्यले शिलान्यास गरेका हुन् ।

लामो विवादका कारण निर्माण अघि बढ्न नसकेको सडक अब धमाधम बन्ने मेयर आचार्यले बताए । ‘किन्त र परन्तु लगाएर हुँदैन । तोकिएकै म्यादभित्र काम सक्नुपर्छ,’ सडक शिलान्यासपछि निर्माण कम्पनीलाई उनको निर्देशन हो ।

३.२८ किलोमिटर सडक स्तरोन्नति आगामी २०८१ साल चैत्र २६ गते सक्नुपर्ने सम्झौता छ । बजेट लगानीका हिसाबले यो सडकलाई देशकै महँगो सडकका रूपमा लिइएको छ । पैसाका कारण काम नरोकिने भन्दै आचार्यले गुणस्तरीय निर्माणमा जोड दिन आग्रह गरे । सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुनेछ भने ५ वटा पुलहरू निर्माण गरिनेछन् ।

सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ । सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ ।

लागत स्टिमेट भन्दा करिब ३९ प्रतिशत कम कबोलेर उसले ठेक्का पाएको हो । ७५ करोड ४८ लाख ६७ हजारमा सम्झौता भएको सडक ७३० दिनमा सक्नुपर्छ । निर्माण व्यवसायी नारायण भुसालले कुनै अवरोध नभए तोकिएकै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *