१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चैत/वैशाख बालबालिकाको खेलकुदको उपयुक्त मौसम हैन : मन्त्री आचार्य

विराटनगर । १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री आचार्यले बालबालिकाका लागि यस्तो मौसममा खेलकुद गर्न नहुने बताए । उनले बालबालिका अनुकूलको मौसम नभएको हुँदा आयोजकहरूले खेल तालिकालाई परिवर्तन गन सुझाव दिए । ‘चैत, वैशाख भन्दाअघि नै यस्तो खेलकुदका कार्यक्रम गरे लक्षित गरिएको बालबालिकालाई सहज हुने छ,’ उनले भने, ‘यस्ता प्रतियोगिता बालबालिकालाई लक्षित गरिन्छ भने बालबालिकाको अनुकूल समयमा गर्न म सुझाव दिन्छु ।’

सरकार खेलकुदको विकासका लागि काम गर्दै आएको बताएका आचार्यले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा संरचना बनाएर खेलको विकास गर्दै आएको बताए । बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेवलगायतले शुभकामना व्यक्त गरेका थिए ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सह आयोजनामा सुरु भएको राष्ट्रपति रनिङ चैत ३० गतेसम्म हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । जिल्लाको १४ पालिकाबाट १ हजार जना खेलाडीको सहभागिता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *