गण्डकीका मुख्यमन्त्रीकाे चटाराे : ४ वर्षअघि बनेकाे पुलदेखि वडा भेलासम्म उद्घाटन

पोखरा । राजनीतिमा `अग्राख नपलाए´ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी वैशाख १० अघि नै बर्खास्त हुँदैछन् । माओवादी र राप्रपाको समर्थनमा उनी पुस २५ गते मुख्यमन्त्री बनेका थिए । सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिएपछि चैत १० गतेदेखि उनको सरकार अल्पमतमा छ । संविधानअनुसार सत्ता समर्थक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र बिश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए नयाँ सरकार बन्छ ।

माओवादी र कांग्रेसको साथ बिना गण्डकीमा सरकार बन्ने सम्भावना छैन । दुवै दल सत्ता बाहिर भएका कारण उनी मुख्यमन्त्रीबाट बर्खास्त हुने पक्कापक्की छ । अल्पमतमा परेपछि अधिकारी सानातिना काममा व्यस्त छन् । पछिल्लो १ महिना यता उनी सबैभन्दा बढी पार्टीकोमिसन ग्रासरूट अभियानमा छन् । त्यसबाट बचेको समय सरकारका लागि उपयोग गरेका छन् ।

अधिकारीले गत शनिबार एकैदिन ५वटा पुल उद्घाटन गरे । उनले उद्घाटन गरेका सबैजसो पुल कम्तिमा १ वर्षअघि निर्माण सकिएर सञ्चालनमा आएका थिए । यसको अर्थ यि पुल उद्घाटन गर्नैपर्ने थिएन । त्यतिमात्र होइन, डेढ महिनाअघि यस्तै हतारमा उनले रुपा गाउँपालिकाका आधा दर्जन योजनाको उद्घाटन गरे । एउटा पुल ४ वर्षअघि नै निर्माण सकिएर प्रयोगमा आएको थियो । स्थानीयले मुख्यमन्त्रीको उद्घाटन मोह रोक्ने प्रयास पनि गरेका थिए ।

`४ वर्षदेखि यही पुलबाट ओहोरदोहोर गरिरहेका छौँ,’ एक स्थानीयले भने, ‘अहिले आएर उद्घाटन गर्नुपर्ने के कारण छ त ? नाम लेखाउन र अनावश्यक तडकभडक देखाउन मात्रै उद्घाटन गरिएको हो । उहाँ निकै फुर्सदमा भएजस्तो लाग्यो ।´

अधिकारी जिल्लाजिल्लामा दलबल सहित एमालेको ग्रासरूट अभियानमा पुगेका छन् । उनले सरकारको नियमित काममा भन्दा सामान्य काममा समय बिताइरहेका छन् ।

`संक्रमणको समय छ । सरकार परिवर्तनको ट्रान्जिटमा असर पर्ने काम गर्न पनि भएन । सचिवज्युहरु पनि प्राय बिदामै बस्नुहुन्छ,´ अर्थमन्त्रालयका एक कर्मचारी भन्छन्, `बजेट बनाउने समय सुरु भैसक्यो । मन्त्रीज्युहरु आउने र फर्किने मात्रै छ । तारिख धानेजस्तो छ ।´

मुख्यमन्त्री अधिकारीले चालू वर्षको बजेट रकमान्तरको प्रयास गरिरहेका छन् । तर कर्मचारीले आनाकानी गरेका छन् ।

अधिकारी अहिले यति फुर्सदमा छन् कि वडाका अर्धवार्षिक समिक्षामा पनि प्रमुख अतिथि बनेर उपस्थित हुन्छन् । मंगलबार पोखरा १५ को समिक्षा कार्यक्रममा उपस्थित भएको तस्विर अधिकारीले आफ्नै फेसबुक पेजमा शेयर गरेका छन् । उनी अल्पमतमा पर्ने बित्तिकै कांग्रेसले संविधानको छिद्र खोजेर सरकारमा अल्झिने काम नगर्न सुझाएको थियो ।

`यो सरकार अल्पमतमा छ । बहुमत जुटाउने सम्भावना पनि छैन,´ कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले भनेका थिए, `यस्तो बेला मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ ।´

तर अधिकारीले संविधान अनुसार संसद फेस गर्ने दावी गरेका थिए । एमाले नेताहरुका अनुसार उनी अहिले संसद नगई अल्पमतमा परेको अन्तिम दिन राजीनामा दिने योजनामा छन् ।अहिले बजेट निर्माणको चटारो छ । तर सरकारलाई फुर्सद छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *