सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेरअघि बढ्नुको विकल्प नभएको बताए । सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरूको रहेको बताए । मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नेमा उनको जोड छ ।
उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको बताए । ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरूको हो । तपाईँहरूको भूमिका महत्त्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाई हामी सबै मिलेर गर्नुपर्छ । त्यसका लागि हामीले नीति, नियम के आवश्यकता छ,’ उनले भने, ‘तपाईँहरूलाई कसरी काम गर्न सहज हुनेछ, त्यसमा हामी कुनै कसुर बाँकी राख्दैनाैँ । यो व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ ? कानून लगायतका कुरामा सहयोग गर्नका लागि हामी तयार छौँ । यो मुलुकलाई समृद्धितिर लैजान महत्त्वपूर्ण भूमिका तपाईँहरूको छ ।’
उद्योगी व्यवसायीहरूले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको मन्त्री रिजालको भनाई छ ।








