दार्जिलिङमा ‘लाहुरेको रेलिमाई’माथि विमर्श 

काठमाडौँ । लेखक विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । मास्टर मित्रसेन थापाको ७७ औँ पुण्य तिथिको अवसरमा आइतबार ९ अप्रिल २०२३का दिन उक्त कार्यक्रमको आयोजना मास्टर मित्रसेन थापा साहित्य कला संस्थानले गरेको हो ।

विमर्शमा सुनिल प्रणामी राईले उपन्यासमाथि  टिप्पणी राख्ने क्रममा  लाहुरेको रेलिमाई  एक ऐतिहासिक युद्ध उपन्यास रहेको र साहित्यकार, संगीतकार,नाटककार, तथा समाजसेवी मास्टर मित्रसेनको लाहुरे र गैरलाहुरे जीवनमा आधारित आख्यान भएको उनले बताए । प्रथम विश्वयुद्धमा स्वयंम मित्रसेन लगायत हजारौँ हजार गोर्खाली सेनाले बाचेको जीवनको प्रतिविम्बलाई जीवन्तरुपमा चित्रण गरिएको यो कृति आफैमा लाहुरेमाथि लेखिएको एक महत्त्वपूर्ण र ऐतिहासिक  कृति हो ।

उपन्यासका पात्रहरू यति जीवन्त छन् कि  मास्टर मित्रसेन  फौजी जीवनबाट निवृत्त भएपछि नेपाली भाषा, साहित्यको उत्थान अनि नेपाली संगीत र नाटकको विकास र तत्कालीन समाजमा जनजागरण ल्याउन उनले गरेको संर्घष र योगदानको बारेमा  पुस्तकले समेटेको राईको टिप्पणीको सार थियो ।

आफ्नो मन्तव्यको क्रममा उपन्यासकार विजय हितानले, आफूले छ वर्ष मास्टर मित्रसेनको लाहुरे र निवृत्तपछिको  जीवनबारे साथै प्रथम विश्वयुद्धमा गोर्खालीको संलग्नताबारे अध्ययन अनुसन्धान र भ्रमण गरेर लाहुरेको रेलिमाईलाई जन्माएको कुरा बताए ।

कार्यक्रमका प्रमुख वक्ता डाक्टर खगेन शर्माले आइ बि राई, बहादुरसिंह बराल, मगन पथिक इत्यादिको प्रेरणा र प्रोत्साहनले मास्टर मित्रसेन सफल भएको र मृत्युपश्चात्  बहुआयामिक व्यक्तित्वको रूपमा चर्चा बटुल्दै नेपाल र भारतका जनताबाट सम्मान प्राप्त गरेको बताए ।

आयोजक संस्थानकै अध्यक्ष अजय थापाको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन मन्दिरा रावतले गरेकी हुन् । उपन्यासको प्रकाशन सांग्रिला बुक्स काठमाडौँले गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *