उपनिर्वाचनका लागि भोलिबाट आचारसंहिता लागू हुने

काठमाडौँ । बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरूमा लागू हुने गरी उपनिर्वाचन प्रयोजनार्थ आचारसंहिता लागू हुने बताए । उनले आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताए ।
उनले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहिता लागू हुने बताए । कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताए ।
उनले भने, ‘उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यो निर्वाचनमा हामीले आचारसंहिता लागू गर्नुपर्छ । आचारसंहिता लागू गर्ने प्रयोजनका लागि आज निर्वाचन आयोगको पनि बैठक बसेको छ । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको पनि बैठक बसेको छ । चैत्र २४ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्णय गरेको छ । यो निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रयोजनका लागि यदि आचारसंहिता उल्लङ्घन भएमा त्यसलाई कारबाही गर्ने, कारबाहीको विषय बनाउने विषयवस्तुसमेतलाई समेट्ने प्रयोजनको लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठक बस्यो र यो बैठकले यसका सबै सरोकारवाला पक्षहरू सबैलाई आचारसंहिता लागू हुन्छ, निर्वाचन क्षेत्रमा मात्रै नभई बारा, चितवन र तनहुँ यी तीन वटै जिल्लाभर आचारसंहिता लागू हुन्छ । कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुन्छ । त्यसैले सबैलाई समेटेर आचारसंहिता लागू गर्दै त्यो आचारसंहितालाई कडाइकासाथ कार्यान्वयन गर्ने प्रयोजनका लागि हामीले विभिन्न योजना तर्जुमा गरेका छौँ । कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरूलाई कडाइका साथ परिपालना गर्न निर्देशन गरेका छौँ । विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहिता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहिता कार्यान्वयन गर्छौँ । यदि कसैले उल्लङ्घन गर्छ भने उल्लङ्घन कर्ता सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहिता उल्लङ्घन हुनेछैन ।’
उनले आचारसंहिता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन कर्ता सजायको भागिदार हुने बताए ।








