नयाँ वर्ष २०८० मा चन्द्रागिरि हिल्सले शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना
शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५
प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल
क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५
प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।
यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट
खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने छ ।
काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ
गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय
गन्तब्यको रुपमा रहेको छ ।
यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने छ ।








