ओलम्पिकको एशिया छनौटमा नेपाली महिला फुटबल टिमको लजास्पद हार

पेरिस ओलम्पिक अन्तर्गत एशियाली फुटबल छनोटमा नेपालको महिला टिमले खराब सुरुवात गरेको छ। पहिलो खेलमा घरेलु टोली नेपाल भियतनामसँग फराकिलो अन्तरमा पराजित भएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोल अन्तरले पराजित भयो।

खेलको पहिलो हाफमा ३–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा थप २ गोल खायो।

११ औं मिनेटमा भियतनामले पाम हाइ एनको गोलमा अग्रता लिएको थियो। ३५ औँ मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमा गोल गरिन् भने ३८ औं मिनेटमा फरवार्ड न्युगेन थि बिच थीले पाहुना टोलीलाई ३–० को अग्रता दिलाइन्।

दोस्रो हाफमा पनि भियतनाम नै हाबी भयो। ४८ औं मिनेटमा कप्तान न्हुले दोस्रो गोल गर्दै ४–० को अग्रता दिलाइन्।

७९ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल फर्काए पनि ९० औं मिनेटमा न्युगेन थि थान न्हाले गोल गर्दा नेपालले फराकिलो पराजय ब्यहोर्यो।

नेपालले दोस्रो खेलमा शनिबार भियतनामसँग नै खेल्नेछ। ओलम्पिक छनोटको एशियाली छनोटमा यही समूहमा अफगानिस्तान र प्यालेस्टाइन रहेपनि दुबै टोलीले नामफिर्ता लिएपछि दुई टोली मात्रै भिडेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *