कोशीमा मन्त्रालयगत बजेट खर्चको मापन सुरु, आगामी बजेटको तयारी

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट बारे तयारी सुरु गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत चालु आर्थिक वर्षको बजेट खर्च र आगामी आर्थिक वर्षका लागि बजेटको प्राथमिकताबारे छलफल सुरु भइएको हो । छलफलमा विभिन्न समितिलाई प्रभावकारी बनाई आगामी आर्थिक वर्षका लागि बजेतकाे प्राथमिकताबारेम छलफल थालेको हो ।

सोमबार राजश्व तथा श्रोत अनुमान समितिको बैठक बसाएको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरूसँग छलफल गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय मातहत रहेका कुन कुन विषयगत समितिले कुन कुन कामलाई प्रभावकारी गराउने भन्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारका मन्त्रालयहरूको बजेट खर्चको अवस्था, खर्च गर्न नसक्ने योजनाहरू समर्पण गर्नेबारे पनि छलफल भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता केशवप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयहरूले समग्रमा आगामी आर्थिक बर्कोलागि मुख्य योजनाको प्राथमिकता र कुल लागतको प्रारम्भिक अनुमान समेत प्रस्तुत गरेका थिए ।

‘बजेट कार्यान्वयनको बारेमा जानकारी लिइएको थियो,’ उनले भने, ‘आगामी बजेटमा समावेश गर्नु पर्ने समग्र योजनाका बारेमा नीतिगत छलफल भएको छ ।’

अबको बजेट कतिको हुने भन्नेबारे मन्त्रालयगत रूपमा खाका प्रस्तुत गरेका थिए । बजेट योजना तथा कार्यक्रम बनाउने क्रममा मन्त्रालयको बिचमा छलफल हुने गरेको भए पनि योजना आयोगसँग समन्वय भएको पाइँदैन ।

प्रदेश योजना आयोगले आवधिक योजना बनाएको भए पनि बजेट तथा नीतिगत प्राथमिकताहरू अर्कोतर्फ जाने गरेको आरोप लाग्दै आएको छ । बजेट सिलिङका आधारमा योजना आयोगसँग समन्वय नै नगरी राजनीति दलहरूले सहमति गरेर बजेट भागबन्डा हुने गरेको छ । मन्त्रालयगत छलफलका क्रममा काेशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले साधन श्रोत हेरेर बजेट निर्माणलाई चुस्त दुरुस्त बनाउने बताए ।

‘नीति कार्यक्रम जनताले महसुस गर्ने खालको हुनुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारलाई जनताले थाहा पाउने, छुने र बुझ्ने गरी जानु पर्छ ।’ प्रदेशको आम्दानी बढाउन राजश्वको दायरामा ख्याल गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *