के बजारमा पैसाको हाहाकार छ ?

बुढोपाकाले भन्थे,‘जो मानिस लोभ लालचमा फस्दैन, अरूको देखासिकी गर्दैन र दुःख गरेर इमानदारीका साथ रकम कमाउँछ, त्यो मानिसले कहिल्यै दुःख पाउँदैन ।’ तर, केही वर्षअघिदेखि अरूलाई ठगेर कमाएका सेयर, घरजग्गा दलालीहरू अहिले ऋण तिर्न नसकेर भागेर हिँडेका छन् ।

सेयर दलालीहरूले बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयर ३२ सय कित्तामा बेचेर सर्वसाधारणलाई ठगे त जग्गा दलालीहरूले आनाको ५ हजारमा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरी आना कै ७० लाखमा बेचे ।

यसरी सर्वसाधारणलाई ठगेर रातारात करोडपति बनेका दलालहरू आज बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर विष खाएर वा पासो लगाएर आत्महत्या गरेको कुरा पनि सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीहरूलाई घुस दिई यिनीहरूले ऋण लिए ।

तर, अहिले आएर तिर्न नसक्दा यिनीहरूको यस्तो अवस्था आयो । ३२ सय रुपैयाँमा बेचिएका सेयर पनि पहिलेकै भाउमा र ७० लाख आनामा बेचेको जग्गा पनि पहिलेकै रेटमा आउने भएको छ । दलालीहरूले ऋण तिर्न नसकेपछि भागी नै हाले या घरजग्गा, गाडी र सेयरमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरू पनि अहिले भाग्नुपर्ने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले बचतकर्ताको रकम सबै घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन् । तर, यो क्षेत्रमै पूरै मन्दी आएपछि अब बैंक तथा वित्तीय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालक कि त भाग्नुपर्‍यो होइन भने जेलको चिसो भुईँमा बस्न तयार हुनुपर्‍यो ।

बजारमा अहिले न नयाँ गाडी किन्ने मान्छे छ न पुरानो । २० लाख मूल्य बराबरको किनेको गाडी अहिले रकमको खाँचो परेर एक लाखमा बेच्छुभन्दा पनि बिक्दैन । यता यातायात र मालपोत कार्यालयमा सुनसान छाएको छ त राज्यको ढुकुटीमा राजस्व संकलन हुन छोडिसकेको छ ।

अहिले त घरजग्गा दलाली, सेयर दलालीहरू बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर आत्महत्या गरेको घटना सार्वजनिक भइरहेको छ । अब कुन दिनदेखि घरजग्गा, गाडी र सेयरमा गरेको लगानी डुबेर बचतकर्ताको रकम फिर्ता गर्न नसकेर बैंक तथा वित्तीय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकले पनि आत्महत्या गरेको कुरा बाहिर आउनेछ ।

अब सर्वसाधारण जनताले आफूसँग भएको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्नेछैनन् । किनकि सहकारी भागेको र बैंक डुबेको कुरा उनीहरूले थाहा पाइसकेका छन् । बचतकर्ताहरू अब ब्याजको लोभमा आफ्नो साँवा फसाउँदैनन् । यता बैंक र सहकारीमा पैसा निकाल्नेको लाम लागेको छ । तर, राख्ने भने शून्यझैँ छन् ।

मानिसहरू भन्छन्, ‘दिन गएपछि रात आउँछ त रात गएपछि दिन ।’ अहिले घरजग्गा, गाडी र सेयर दलालीको भागाभाग चल्दा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारी मुख्य परेका छन् । तर, अब दलालीकै यसरी भागाभाग चलेपछि घरजग्गा, गाडी र सेयरको मूल्य कसरी बढ्छ ? अनि यिनीहरूको बिक्री वितरणमा पहिला जस्तो रहनसहन आउँछ ।

किनकि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले त यी क्षेत्रमा कर्जा मात्र लगानी गर्ने हो । यसको मूल्य बढाउने काम त दलालीको हो । हो, यसरी दलालीहरूको भागाभाग चलेपछि घरजग्गा, गाडी र सेयरको मूल्य घटेपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्षदेखि कर्मचारीसम्मको भागाभाग चल्नेछ ।

पछिल्लो समय सर्वसाधारण जनता सहकारीमा सय रुपैयाँ जम्मा गर्दैनन् त बैंकका हजार रुपैयाँ । उल्टै उनीहरू बैंक तथा वित्तीय संस्थामा आफ्नो रकम छ भने निकाल्न लाइन बस्छन् । सर्वसाधारण जनताले अहिले आफूसँग भएको र बैंक तथा वित्तीय संस्थाबाट समेत निकालेर आफ्नो रकम घरमै लुकाएका छैन ।

अहिले सहकारीहरू सबै डुबिसक्यो वा भागिसक्यो र बैंक पनि टाट पल्टिएर बचतकर्ताको रकम फिर्ता गर्न सक्दैन भन्ने कुरा सबैको कानमा पुगिसक्यो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरूले अहिले ब्याज साँवा नै तिर्न छोडिसकेका छन् त उता बैंक तथा वित्तीय संस्थालाई ऋणीले ऋण र ब्याज केही नतिर्दा नयाँ कर्जा लगानी गर्न पैसा छैन ।

त्यस्तै, सहकारीहरू कार्यालयको भाडा तिर्न नसकेर धमाधम भागिरहेका छन् त बैंक पनि कर्मचारीलाई तलब दिन नसकेर आफ्नो शाखा कार्यालय घटाउँदैछ । बैंक डुब्ने अवस्थामा पुगेपछि सेयर होल्डरहरूले सेयर बेच्छुभन्दा पनि किन्ने कोही छैन ।

अहिले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीहरूले नै आफूहरू डुब्ने अवस्थामा पुगेको कुरा थाहा पाएका छन् । साथै, घरजग्गा, गाडी र सेयरमा जथाभाबी कर्जा लगानी गर्दा यो अवस्था निम्तिएको पनि उनीहरूले स्मरण गरेका छन् । एउटा उखान छ, आमाबुबालाई बाँचुन्जेल खानलगाउन नदिने तर मरिसकेपछि पाकेको केरा र दूध मुखमा कोचाउने ।’ अब मरेको मान्छे फिर्ता आउँदैन त बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा, गाडी र सेयरमा गरेको लगानी डुब्यो ।

तीन वर्षअगाडि ठाउँ हेरेर आनाको २० देखि ९० लाखमा किनेको जग्गा अहिले तीन भागको एक भागमा बेच्छुभन्दा पनि बिक्री हुँदैन । हिजो नाफा खान्छु भनेर यिनीहरूले यसरी जग्गा किनेका हुन् । तर, अहिले नाफाको त कुरै छोडौँ साँवा नै डुबेको छ । यता आनाकै २० लाखमा किनेको जग्गाको सरकारी मूल्य भने पाँच हजार छ ।

तर, त्यहीँ जग्गा दलालीले २० लाख आनामा बेचिदियो । त्यस्तै, ९० लाख आनामा किनेको जग्गाको सरकारी रेट ५ लाख छ तर जग्गाले ९० लाखमा बेचिदियो । उता यही जग्गा रोक्का राखेर दलालीहरूले बैंक तथा वित्तीय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकलाई घुस खान दिई २० लाखको १६ लाख रुपैयाँ कर्जा मिलाइदियो त ९० लाखको जग्गामा ७० लाख रुपैयाँ लोन मिलाइदियो ।

यसरी बैंक तथा वित्तीय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकहरूले घुस खाएर कर्जा प्रवाह गरे । १ करोड कर्जा दिँदा १० लाख रुपैयाँ घुस, २ प्रतिशत सेवाशुल्क र १८ देखि ४८ प्रतिशत ब्याजमा दलालीहरूले सर्वसाधारणलाई जग्गा भिडाए । ७० लाख लिएको ऋण तिर्न नसकेर अहिले ८० लाख पुग्यो तर ९० लाखमा किनेको जग्गा पहिलाको आधा मूल्यमा आयो ।

ऋणीहरूले अब हामी ऋण तिर्न सक्दैनौँ बरु घरजग्गा, गाडी र सेयर नै लिलाम गर्नुस् भनेर भनिसकेका छन् । तर, बजारमा अहिले घरजग्गा किन्ने कोही छैन त बेच्ने यत्तिकै छन् । बैंक तथा वित्तीय संस्थालाई हिजो सर्वसाधारण जनता वा सरकारले यी क्षेत्रमा लगानी गर्नु भनेर त भनेका थिएनन् । घुसको लोभमा नाफा कमाउने लोभमा बैंक तथा वित्तीय संस्थाले भटाभट आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।

पछिल्लो समय मानिसहरू काम गर्न चाहँदैन तर बसिबसी मिठो खान भने पल्किछन् । पहिला पहिलाका मानिसहरू अरूलाई ठग्नु हुन्न बरु भोकै बस्नुपर्छ भन्थे तर अहिलेका मानिसहरू अरूलाई नै ठगेर मोजमस्ती गर्छन् । यसरी घरजग्गा दलाली, सेयर दलाली र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले अरूलाई फसाएर डुबाएर आफू कमाउन सिके ।

अहिले यिनीहरूकै कारण मुलुकको खेतीयोग्य जमिन पनि बाटो र घर बनाएर सिद्धियो । यता महँगी ह्वात्तै बढ्यो त खाद्य संकट निम्तियो । उता जो मानिसले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेका छन् ।

उनीहरू पनि अहिले चुर्लुम्मै भएका छन् । ऋणीले तिर्न नतिरेपछि र घरजग्गा, गाडी र सेयरको मूल्य घटेपछि अब बैंक त डुब्ने नै भयो । तर, त्यहाँ बचत नै बचतकर्ताको रुवाबासी हुने भयो । सरकारले पहिले खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न दिनुहुँदैन थियो । साथै, बैंक तथा वित्तीय संस्थालाई पनि घरजग्गा, गाडी र सेयरमा लगानी गर्न दिनुहुँदैन थियो ।

अहिले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले ब्याज खान राखेको रकम बैंक तथा वित्तीय संस्था अध्यक्ष, सञ्चालक र कर्मचारीहरूले घुस खाएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । तर, यो रकम त्यहाँ पुगेर फ्रिज हुँदा आज बैंक तथा वित्तीय संस्थाको भागाभाग हुने भएको छ त बचतकर्ताको रुवाबासी ।

अहिले बजारमा पैसाको हाहाकार छ । बैंक तथा वित्तीय संस्था डुब्ने कुरा थाहा पाएपछि बचतकर्ताहरूले सबै पैसा निकालेर आफ्नो घरमा लुकाएका छन् । एक वर्ष अघिसम्म एकदेखि डेढ लाखको व्यापार गर्ने व्यापारीहरू अहिले कुनै दिन चार÷पाँच हजारको व्यापार हुने त कुनै दिन हुँदैनहुने समेत बताउँछन् ।

बजारमा पाँच र हजारको नोट हाहाकार हुँदा समेत अर्थमन्त्री प्रकाशशरण महतले कुनै कदम चालेका छैनन् । अहिलेसम्म उनले ज्येष्ठ नागरिकको भत्ता, सरकारी कर्मचारीको तलबभत्ता र पेन्सन कटौती गर्ने भनेर निर्णय गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =