चितवनमा कांग्रेसले १ बजे उम्मेदवारी दर्ता गर्ने, विश्वप्रकाश जाँदै

काठमाडौँ । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । चितवन-२, तनहुँ-१ र बारा-२ मा हुने उपनिर्वाचनका लागि आज राजनीतिक दलहरूले आ-आफ्नो उम्मेदवारको मनोनयन दर्ता गर्न लागेका हुन् ।

नेपाली कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउँदैछ । उनको उम्मेदवारी दर्ता गराउनका लागि महामन्त्री विश्वप्रकाश शर्मा चितवन जाने कार्यक्रम छ । चितवन सभापति राजेश्वर खनालका अनुसार दिउँसो १ बजे मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

श्रेष्ठको उम्मेदवारी दर्ताका लागि सहमहामन्त्री डिना उपाध्याय पनि चितवन जाँदैछिन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भएका थिए ।

तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *