पूर्वाञ्चल प्राध्यापक संघको उद्दण्डता, पाँच महिनादेखि तालाबन्दी

विराटनगर ।  प्राध्यापकहरूको संस्था भनेको एउटा बौद्धिक क्षेत्र हो भन्ने बुझाई आम नागरिकको छ । त्यही भएर पनि प्राध्यापकहरूको सधैँ सम्मान हुँदै आएको छ । कुनै एउटा पार्टी कार्यकर्ताले मन लाग्दा तालाबन्दी गर्ने मन नहुँदा खोल्ने खालको प्रवृत्ति पूर्वाञ्चल विश्वविद्यालयमा लामो समयदेखि हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले २०७९ मंसिर १ गते एउटा विज्ञप्ति निकालेर उपकुलपतिले झुण्ड जत्था भनेको भन्दै एक्कासी तालाबन्दी गर्ने जनायाे । गत असोज ६ गते निर्वाचित भएर आएको दाबी गरेको प्राध्यापक संघले निर्वाचित भएर आएको दुई महिना नै पुग्दा नपुग्दै तालाबन्दी गरिदियाे ।

यसले  विश्वविद्यालयको गरिमामा आँच आउने काम भएको प्राध्यापक भित्रैबाट आलोचना भएको छ । विश्वविद्यालय प्राध्यापक संघको अध्यक्षमा यज्ञप्रसाद जमरकट्टेल आएपछि प्राध्यापकहरू निर्वाचित भएर आउने बित्तिकै  विश्वविद्यालयमा  तालाबन्दी गर्नुपर्छ भन्ने देखाइदिएको आरोप लाग्न थालेको छ।  आफैँ नाङ्गिएर प्राध्यापक संघको बदनाम गराउने काम भएको भन्दै प्राध्यापकहरू बेखुस छन् ।

दोस्रो विज्ञप्ति

प्राध्यापक संघको नाममा फेरी अर्को विज्ञप्ति आयो । त्यसमा लेखियो, ‘मंसिर १ गते संघले ३५ औ सभामा ऐन बमोजिमका प्राध्यापकको प्रतिनिधित्व माग गर्दै उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेको सर्वविदितै छ । तर २०७९ मंसिर ९ मा विश्वविद्यालय सभा हुँदै गर्दासम्म समेत प्राध्यापक संघलाई ऐन बमोजिम सामेल नगराई सभा सञ्चालन गराइएकोमा घोर आपत्ति जनाउँदछौँ ।’

विज्ञप्तिमा धम्कीपूर्ण शैलीमा विरोधका कार्यक्रम यथाशीघ्र प्रकाशित गर्छौं भनियो ।

यो विज्ञप्तिसम्म आउँदा प्राध्यापक संघ चुकिसकेको थियो ।  पहिलो विज्ञप्तिमा तालाबन्दीको कारण एउटा भनिएको थियो भनेँ,  दोस्रो विज्ञप्तिबाट माग परिवर्तन भइसकेको थियो । पहिलो विज्ञप्तिबाट उपकुलपतिलाई झुण्ड भनेको आरोप लगाएर तालाबन्दी गरेका प्राध्यापकहरूले दोस्रो विज्ञप्तिमा मंसिर १ गते ३५ औ सभामा ऐन बमोजिम प्रतिनिधित्वको माग राखेर रजिस्ट्रार र उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको भनेर झुकाउने प्रयास गरे ।  कुनै माग बेगर विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेको प्राध्यापक संघ कसरी आफ्नो माग बलियो बनाउने भन्नेमा दोस्रो विज्ञप्तिलाई अघि सारिएको बताइन्छ ।

त्यतिसम्म पनि विश्वविद्यालयले प्रशासनले प्राध्यापकहरूले उठाएको विषयमा खासै वास्ता गरेको देखिँदैन । त्यसपछि प्राध्यापकहरूले पार्टी निकटका विद्यार्थीहरूलाई परिचालित गरेको प्राध्यापक भित्रैबाट आरोप लाग्दै आएको छ।

त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयका तिन विद्यार्थी संगठनहरुले विभिन्न चार बुँदे माग अघि सारे । उनीहरूले कर्मचारी भर्नाका लागि विश्वविद्यालयले खोलेको आवेदनलाई आधार बनाए । उनीहरूले सेवा आयोगको विज्ञापन खारेज, निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेज, परीक्षा व्यवस्थापन कार्यालय व्यवस्थित र परीक्षा नियन्त्रकको नियुक्ति, विद्यार्थी कल्याणकारी परिषद्को निर्वाचन गराउनु पर्ने माग सहित एक दिन भित्रै माग सम्बोधन  गर्नु पर्ने नगरे तालाबन्दी गर्ने चेतावनी दिए । यो मागको उदेश्य पनि कसरी हुन्छ, विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्नु पर्नेमा देखिन्थ्यो ।

त्यही दिन अर्थात् २०७९ पुस ३ गते पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघले अर्को विज्ञप्ति निकाल्यो । कर्मचारी संघले निकालेको विज्ञप्तिमा भनियो, ‘पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघद्वारा मंसिर ९ गतेका दिनदेखि विभिन्न माग राखी केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा विश्वविद्यालयको दैनिक काम काज लगायत वृतिविकासका कामहरु समेत ठप्प भएको हुनाले ताला खोली विश्वविद्यालयको सर्वाङ्गीण विकासकालागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौँ, तत्काल वार्ता गरी समस्याको समाधान गर्न एवम् विश्वविद्यालयलाई सुचारु रूपमा अगाडी बढाउन आवश्यक पहल गरिदिनु हुन संघ अपिल गर्दछ ।’

कर्मचारीको आग्रहलाई पनि प्राध्यापकले सुनेनन्, उनीहरूले  थप तालाबन्दी गर्नका लागि विद्यार्थी संगठनहरुलाई  साथमा लिएर प्राध्यापक संघ तालाबन्दीलाई शक्तिशाली देखाउन चाहन्थ्यो ।

तालाबन्दीको विषय नखुलेको ध्यानाकर्षण

प्राध्यापक संघले पुनः फागुन ३० गते उपकुलपतिलाई सम्बोधन गरेर गम्भीर ध्यानाकर्षण तथा आवश्यक मागका सम्बन्धमा भन्दै उपकुलपतिलाई विभिन्न मागहरू सहित पत्र लेख्यो ।  विश्वविद्यालयको प्रायोगिक उन्नयनका लागि लाग्नु पर्ने प्राध्यापक संघ  आफ्नै कारण विवाद माथि विवादमा पर्दै गयो ।

उपकुलपतिलाई गराइएको ध्यानाकर्षण पत्र २०७९ माघ ११ गते चिकित्सक संघको डिनमा पदपूर्ति गर्ने बारेमा विज्ञापन गरिएको विषयलाई छिर्के हान्नमा केन्द्रित देखिन्थ्यो । विज्ञापन प्रकाशित गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । उक्त विज्ञापन तत्काल खारेज गरी विश्वविद्यालय भित्रै रिक्त रहेको संकाय तथा डिन र परीक्षा नियन्त्रक नियुक्ति हुनु पर्ने प्राध्यापक संघले विज्ञप्ति जारी गरेर भनेको छ।  विभिन्न ९ बुँदे मागमा कर्मचारी राख्ने, नराख्ने तथा सेवा सुविधा लिनेबाहेक यसअघि गरिएको तालाबन्दीको बारेमा प्राध्यापक संघ बोलेन । त्यति बेलाको माग के हो र कसरी सम्बोधन गर्ने भन्ने बारेमा प्राध्यापक संघले अहिलेसम्म बोलेको छैन ।

हचुवाको भरमा तालाबन्दी गरेको प्राध्यापक संघ अहिले आएर त्यो तालाबन्दीलाई देखाएर विभिन्न मागहरू अघि सार्दै आएको छ।  पछिल्ला मागहरूमा लामो समयदेखि रोकिएको शिक्षकको आन्तरिक तथा खुल्लाको विज्ञापन तत्काल सुचारु, सबै संकायमा विद्यावारिधि कार्यक्रम सञ्चालन, शिक्षकहरूको तत्काल करार नवीकरण हुनु पर्ने, लघु अनुसन्धानका लागि आवश्यक रकम उपलब्ध गराउनु पर्ने, ऐन, नियम तथा नियमावलीले व्यवस्था नगरेको पदहरू खारेज, अस्थायी र करारका सबैको विमा गर्नु पर्ने भनिएको छ ।

नेपाल प्राध्यापक संघले यज्ञप्रसाद जमरकट्टेल नेतृत्वको पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघलाई वैधता दिएको छैन । त्यही वैधता नदिएको कारण अहिलेसम्म विश्वविद्यालयले समेत प्राध्यापक संघको वैधताको आधिकारिकताको आधिकारिकता प्राध्यापक संघबाट खोज्दै आएको छ।  अध्यक्ष जमरकट्टेल वैधताको विषयलाई लिएर उपकुलपतिले आर्थिक चलखेल गरेको आरोप लगाएका छन्  ।

अझै नखुलेको ताला 

पूर्वाञ्चल विश्वविद्यालयको प्राध्यापक संघको नाममा भएको तालाबन्दी अझै खुलेको छैन, विद्यार्थी संघहरुले भने दीक्षान्त समारोहलाई लक्षित गरी ताला खोलेका छन् ।  प्राध्यापक संघले मंसिर १ गतेदेखि गरेको तालाबन्दीका कारण अहिलेसम्म उपकुलपतिको कार्यालय, रजिस्ट्रारको कार्यालय लगायतका प्रशासनिक कामहरूलाई प्रभावित गर्ने काम भएको छ ।

प्रशासनिक तालाबन्दीका बिच विश्वविद्यालयले आइतबार दीक्षान्त समारोहको आयोजना गरेको छ ।  दीक्षान्त समारोहमा  पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा पर्न सक्ने बाधा–अड्चन र कानुनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले ऐनको समयानुकुल परिमार्जन र संसोधनका लागिसमेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउने प्रयास गरे । गोठगाउँमा जति सक्दो चाँडै मेडिकल कलेज सञ्चालन भई जनतामा गुणस्तरीय स्वास्थ्य सेवासमेत उपलब्ध होस् भन्ने यस क्षेत्रका जनताको अपेक्षाबारे आफू जानकार रहेको बताए ।

विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा प्राध्यापक संघको भने सहभागिता नरहेको संघले जनाएको छ। पूर्वाञ्चाल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष यज्ञप्रसाद जमरकट्टेलले केही समयका लागि आएका भाडाका कर्मचारीले विश्वविद्यालयलाई बिगार्न लागेकोमा त्यसलाई सपार्न खोज्दा खोज्दै पनि नभएको बताए ।

‘स्थायी सरोकारवाला हामी हौँ, विश्वविद्यालयको सुधारमा हाम्रो चासो हुन्छ, उनले भने, भाडाका मान्छेहरू आउँछन् जान्छन्, विश्वविद्यालय सुधारका लागि पटक पटक आग्रह गरेका छौँ तर सुनुवाइ भएन ।’ उनले विश्वविद्यालयमा तालाबन्दी गरिएको विषयलाई संकेतिक रूपमा भएको बताए । उनले दीक्षान्त समारोहलाई पनि प्राध्यापकहरूले बहिस्कार गर्नु परेको उनको भनाइ छ ।

विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षान्त समारोह जस्तो कार्यक्रम प्राध्यापक संघबाट बहिस्कार भएको भन्ने बारेमा कुनै आधिकारिक जानकारी नभएको बताए । प्राध्यापक संघले दीक्षान्त समारोह आयोजक समितिको बैठकमा समेत भाग लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *