विराटनगरका कवि र कविता सार्वजनिक

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ नामक कृतिको लोकार्पण गरिएको छ । कृतिमा वि.सं. १९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरू समावेश गरिएका छन् ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख  अतिथि साहित्यकार कविराज न्यौपानेले यो कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न प्रशस्त सघाउ पुर्‍याउने बताए । सो सभाका सभापति एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको १०० औँ कृतिको रूपमा रहेको जानकारी दिए । कृति विराटनगरको साहित्य अध्ययन गर्नेहरूका लागि गौरवमय दस्ताबेज बन्न सफल भएको उनको भनाई छ ।

साहित्यकार, समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्त्वपूर्ण अभिलेखको रूपमा रहेको कुरा उल्लेख गरे । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले विराटनगरमा समग्र जीवन समर्पण गर्नेदेखि लिएर जीवनको केही कालखण्ड यहाँको माटोमा व्यतीत गरेका स्रष्टाहरूको कविता कृतिभित्र समेटिएको उल्लेख गरे ।

सो कृतिका संयोजक एवं सम्पादक लक्ष्मी पोखरेलले केही अग्रज स्रष्टाहरूका साथै घरपरिवारको साथ सहयोगका कारण आफूले यस्तो खोजमूलक कृति तयार पार्न सकेको बताए । सो समारोहमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेलले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने साहित्यकार देवी पन्थी, लक्ष्मी उप्रेती तथा गुराँस पुस्तकालयका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस नगर समिति अध्यक्ष दीपक चापागाईँलगायतका व्यक्तित्वहरूले मन्तव्य प्रकट गर्नुभएको थियो ।

समारोहमा कविहरू सीमा आभास, राधिका गुरागाईँ, सविता गौतम दाहाल, भरत गुरागाईँ, प्रिन्स प्रमोद ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, रोहिणी रसिक, ओम आचार्य, स्वयंभुनाथ कार्की, गोपाल निर्भीक, राधा भट्टराई, भीम कोइराला, लोचन रिजाल, शोभा लामा तथा स्वीकृति रेग्मी मुना लगायतले संग्रहभित्रका कविता वाचन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *