रास्वपा व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपा व्यक्तिकाे नभएर प्रणाली केन्द्रित पार्टी भएको बताएका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी छिट्टै सबैभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गर्दै आगामी निर्वाचन पछि बहुमत र दुई तिहाइको सरकार आफ्नो पार्टीले बनाउने बताए ।

उनले भने, ‘कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डिआइजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका छौँ । हाम्रो पार्टीमा हजारौँ क्षमतावान मानिसहरू जोडिनु भएको छ । यो जनाउ घण्टी मात्र हो । यो सपना मैले सुतेर देखेको होइन। आँखा खोलेर देखेको सपना हो । यो सपनाको पाइला चाल्नुहुने मित्रहरुलाई धन्यवाद। ’

उनले वाग्ले र खरेलजस्ता विज्ञहरूले मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा बिचौलिया र घुसखोरहरुको अन्त्य हुने दाबी समेत गरे । वाग्ले र खरेलजस्ता विज्ञहरू आफ्नो पार्टीमा आउनु भनेको सिङ्गो देशका लागि उज्यालोको संकेत भएको उनको भनाई थियो ।

सभापति लामिछानेले भने, ‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौँ क्षमतावान् मानिसहरू जोडिन आँटेको जनाउ घण्टी मात्रै हो । सम्पूर्ण होइन । त्यस कारणले यो जानकारी गर्नका लागि पनि हामी यहाँ उपस्थित भएका हौँ । अन्त्यमा पार्टीलाई विश्वास गरेर, यो अभियानलाई विश्वास गरेर आफूले आर्जन गरेको आफ्नो नाम, आफ्नो प्रतिष्ठालाई हामीसँगै जोडिएर अगाडि बढ्ने जुन साहस, हिम्मत र साथ दिनुभयो । म दुवै जना साथीहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु । तपाईँहरूको आगमनले एउटा केवल राजनीतिक दलमा तपाईँहरू दुई जना आउनु भएको मात्रै होइन । एउटा हुर्कँदै गरेको पुस्तालाई तपाईँहरूले कति भरोसा दिनु भएको छ । यो अँध्यारो ठाउँमा, यो अन्धकार भएको ठाउँमा, समाज जहाँ निराशाको एउटा ठूलो बादल छाएको छ । यस्तो निराशाको बादल छाएको ठाउँमा तपाईँहरूले एउटा आशाको किरण बालिदिनुभएको छ । एउटा ज्योति बालिदिनु भएको छ । यस अर्थमा तपाईँहरूले यो मुलुकलाई, यो ठाउँलाई र तपाईँहरूले सिङ्गो समाजलाई र र सिङ्गो देशलाई आशाको जुन किरण झल्काई दिनु भएको छ । यो गुण तपाईँले लगाउनु भएको छ । मलाई विश्वास छ । आउँदै गरेको पुस्ताले तपाईँले लगाउनु भएको यो गुणलाई सम्झने छ । म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाइको सरकार बनाउनेछौँ । जहाँ हाम्रा सांसदहरू, नीति निर्माणमा संसदभरी रहनेछन् । र, हामीले सञ्चालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईँहरूजस्तो विज्ञहरूले मन्त्रालयहरू हाँक्नु हुनेछ । जहाँ बिचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ । यो देशले राम्रा नीतिहरू बनाउनेछ । र, आउँदै गरेका हाम्रा छोराछोरीहरूको भविष्य सुनिश्चित गर्नेछ । म त्यो दिनको सपना देखिरहेको छु । यो सपना मैले सुतेर, निदाएर देखेको सपना होइन ।’

सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताए ।

साथै, उनले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने बताउँदै लामिछानेले आफूहरू व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए । उनले भने, प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनतम साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचा पत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएका थियौ । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरिरहेका छौ, भ्रष्टाचारीलाई समाउँछौँ नभन्ने त्यस्तो सरकारमा हामी जान सक्दैनौँ । उपचुनाव सकिँदासम्म सरकारको न्यूनतम साझा कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिन्छौ ।

उपनिर्वाचनका लागि रास्वपाले चितवन २ मा लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =