तनहुँ १ को चुनावी गणित : रास्वपा ले थप्ला ८ हजार मत ?

रोचक प्रतिस्पर्धा हुने पक्का

पोखरा । निर्वाचनहरुमा अघिल्ला गणितले मात्रै अर्थ राख्दैन । तर तथ्याङ्कको विश्लेषण भने अघिल्लो निर्वाचन र निर्वाचनको ‘ट्रेन्ड’ लाई हेरेर नै गरिन्छ । तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा बैशाख १० गते उपचुनाव हुँदैछ । यसका लागि प्रमुख राजनीतिक दलहरूबाट ‘हेवीवेट’ प्रतिस्पर्धा हुने लगभग निश्चित छ ।

डिफेण्डिङ च्याम्पियन नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई टिकट दिएर नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ । २०७४ मा जितेपनि २०८९ मा पराजित नेकपा एमाले अहिले नतिजा उल्टाउन चाहन्छ भने वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ‘सेलिव्रिटी’ उम्मेदवार उठाउने भएको छ । रास्वपाबाट कांग्रेस छोडेका स्वर्णिम वाग्ले उम्मेदवार हुने पक्का भएको छ । एमालेबाट पनि पूर्व आइजीपी सवेन्द्र खनालको अधिक सम्भावना छ ।

तनहुँको राजनीति अंकगणितमा मात्रै सीमित छैन । २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका रामचन्द्र पौडेल २०७४ मा एमालेसँग पराजित भए । एमालेका कृष्णकुमार श्रेष्ठ ९किसान० एमाले छोडेर अहिले एकीकृत समाजवादीको तर्फबाट बारामा निर्वाचित भए । त्यतिमात्रै होइन, तनहुँको राजनीति कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीको कोर्टमा पनि छ । उनी पनि यहाँको चुनावी ‘फ्याक्टर’ हुन् ।

मंसिरमा सम्पन्न निर्वाचनबाट कांग्रेसका पौडेल विजयी हुँदा उनलाई नेकपा एस, माओवादी केन्द्र लगायत विभिन्न दलका कार्यकर्ताहरूले पनि मतदान गरेका थिए । अहिले पनि उक्त गठबन्धन कायम रहने सम्भावना छ । तर मंसिरको चुनावका प्रतिस्पर्धी गोविन्दराज जोशी भने अहिले उम्मेदवार नबन्ने लगभग निश्चित भैसकेको छ । त्यसो भए उनले प्राप्त गरेको मत कुन पार्टीलाई जान्छ रु त्यो भने हेर्न बाँकी छ ।

कांग्रेसका पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत मात्रै पाए । करिव साढे ५ हजार मतको फरक देखिन्छ । अघिल्लो चुनावमा एमालेसँग मिलेर अहिले एक्लै चुनाव लडेका पुर्व कांग्रेस जोशीले ६ हजार ८ सय ८६ मत पाएका छन् । कांग्रेसको दाबी अनुसार अहिले जोशी उम्मेदवार नहुँदा करिव ४ हजार मत कांग्रेसमा फर्किन्छ ।

एमालेका राना त्यतिबेला पनि उक्त क्षेत्रमा भिजेका नेता हुन् । अहिले नयाँ उम्मेदवारको छवी र चुनावी ‘क्याम्पेनिङ’ ले मतको निर्धारण गर्छ । प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा भइरहेको उक्त क्षेत्रमा रास्वपा ले ६ हजार ४४ मत पाएको थियो । विकास सिग्देल खासै चिनिएका अनुहार थिएनन् । अहिले रास्वपा ले उठाउने उम्मेदवार चर्चित अनुहार हुन् । त्यो मात्रै होइन, लामो समय कांग्रेसको राजनीतिमा सक्रिय उनी पार्टी नै परित्याग गरेर रास्वपाबाट उम्मेदवार हुँदैछन् ।

उनलाई कांग्रेसको पनि सहानुभूतिको मत जान सक्छ । एमाले वा अन्य पार्टीहरूको मत पनि स्वर्णिमले पाउने सम्भावना निकै बढी छ । प्रत्यक्षतर्फ २५ हजार मत कटाएको कांग्रेसले समानुपातिकमा २० हजार मात्रै पाएको छ । प्रत्यक्षमा करिव २० हजार मत ल्याएको एमालेको पनि १६ हजार मात्रै मत समानुपातिकमा आएको छ । यसको अर्थ बाँकी मत रास्वपामा परेको देखिन्छ । समानुपातिक तर्फ रास्वपा तेश्रो दल बनेको थियो । उक्त पार्टीले १२ हजार ७ सय ७३ मत पाएको थियो । यहाँ माओवादीको ७ हजार ३ सय २६, राप्रपाको ३ हजार ५ सय ७७ र एकीकृत समाजवादीको ८-९ सय ५० मत छ ।

प्रत्यक्ष हेर्दा यो क्षेत्रमा चुनाव जित्न रास्वपा उम्मेद्वारले करिव १५ हजार मत थप्नुपर्छ भने समानुपातिक मत हेर्दा करिव ८ हजार मत थपे निर्वाचित हुन सक्ने सम्भावना छ । व्यक्तित्वको हिसाबले पनि स्वर्णिमले अघिल्लो निर्वाचन भन्दा निकै धेरै मत पाउने सम्भावना भने रहन्छ । कांग्रेसले पनि जनस्तरमा भिजेकै नेतालाई उम्मेदवार बनाएका कारण प्रतिस्पर्धा भने रोचक हुने पक्का छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *