विराटनगरमा व्यापारी शासन : राजनीति आडमा ‘नो पार्किङ’ उल्लंघन

विराटनगर । पूर्व मन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य केदार कार्कीले गत चैत २ गते एउटा स्टाटस लेखे, ‘बजार भनेको घना भिड हुनुपर्छ, सुनसान हुँदैन ।’ उनले सामाजिक सञ्जालमामा यो कुरा पटक पटक दोहोर्‍याए र काठमाडौँको न्युरोडसम्म जोडेर लेखे ।

महानगर पालिकाले कृत्रिम नाटक गरेर उपभोक्ता र विराटनगर बजारका व्यवसायीलाई त्रसित बनाएको आरोप लगाए । उनले सामाजिक सञ्जालमा लेखे, ‘नो पार्किङभन्दा व्यवस्थित पार्किङको व्यवस्था गरोस् । बजारको परिभाषा सामान्य भाषामा घना भिडभाड नै हो ।’ उनले सुनसान हुने ठाउँ बजार र व्यवसाय नहुने टिप्पणी गरे । ‘जहाँ सुनसान हुन्छ त्यहाँ न व्यवसायी हुन्छन् न व्यवसाय न उपभोक्ता न बजार,’ उनको भनाई थियो ।

उनको यो भनाई आएसँगै विराटनगर महानगरपालिकाले शुरु गरेको मेन रोड नो पार्किङको अभियान चित्त नबुझेका व्यापारीलाई मलजल पुग्यो । त्यसैको आडमा व्यापारीहरू महानगरपालिका धाउन थाले । नो पार्किङ नहटाउने भए हामी त्यसको बहिस्कार गर्छौ र त्यसको विरोधमा नो पार्किङमा पार्किङ गराएर उल्लंघन गर्छौँ भन्दै आक्रोश व्यक्त गर्न थाले । केही मै हुँ भन्ने व्यापारी र नेताको कारण अलिक व्यवस्थित बन्दै गएको विराटनगरलाई अस्तव्यस्त बनाउने प्रयास भएको नागरिक समाजको बुझाई छ । पछिल्लो केही महिना देखि विराटनगर महानगरपालिकाको मेन रोड क्षेत्र सफा सुन्दर र फराकिलो देखिन्थ्यो । सडकमा लामो पार्किङमा बस्ने सिटी तथा अटोहरू मेडरोडमा नरोक्ने अवस्थामा पुगेका थिए ।

महानगरपालिका नगर प्रहरीको सहयोगमा कोशी प्रदेशको राजधानी विराटनगरलाई व्यवस्थित गर्नु पर्छ भनेर लागेको थियो । केही नेताहरू र व्यापारीको कारण यो अभियानमा अहिले उल्लंघन गर्ने र व्यापारीहरूबाट नै असहयोग गर्ने काम भएको छ ।

काठमाडौँको उदाहरण दिएका कार्कीले ‘वान वे सिस्टम’ र मेन रोडमा पार्किङ गर्न पाइँदैन भन्ने कुरा नबुझाई व्यापारीलाई उचाल्ने काम गरेको नागरिक समाजको आरोप छ । कार्कीको मात्र हैन व्यापारीको पनि नागरिक तहबाट विरोध भएको छ । महानगरपालिकाले शुरु गरेको मेन रोड क्षेत्रको नो पार्किङको विषय राम्रो भएको भएपनि केही व्यापारीले आफू पनि केही नगर्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति विराटनगरका व्यापारीमा देखिएको आलोचना भएको छ ।

नागरिक समाजको तर्फबाट पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले विराटनगरको मेनरोडमा नो पार्किङ गरेर सुन्दर विराटनगर भएको मन नपराई अस्तव्यस्त, कुरूप विराटनगर बनाउने व्यापारीको कुरा निन्दनीय भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा कथाको उदाहरण दिएर लेखेका छन्, ‘एक कुकुरले भगवानको खुब आराधना, ध्यान र तपस्या गरेछ । भगवान् खुसी भएर कुकुरलाई वरदान माग्न भनेछन् । कुकुरले स्वर्ग जान पाउँ भनेछ । भगवानले तथास्तु भनेछन् । कुकुर स्वर्ग पुगेछ, घुमेछ, फिरेछ मिष्टान्न भोजन गरेछ तर पनि कुकुर बेचैन देखियो । कुकुर बेचैन देखियो भनेर अप्सराहरूले भगवानलाई गुनासो गरेछन्, भगवानले कुकुरलाई किन बेचैन भनेर सोधेछन्, कुकुरले भनेछ– ‘प्रभु यो स्वर्गमा हड्डी, मासु खान पाइन अनि दिक्क लाग्न थाल्यो ।’ भगवानले स्वर्गमा हड्डी, मासु खान नपाइने कुरा भनेछन् । अनि कुकुरले बरु आफू धर्तीमै जान चाहन्छु भनेछ । भगवानले तथास्तु भनेछन् । अहिले विराटनगरको नो पार्किङको कुरा पनि त्यसै गरी आएको छ । विराटनगरमा नो पार्किङ गरेर सुन्दर विराटनगर भएको मन नपरी अस्तव्यस्त, कुरूप विराटनगर बनाउने कुरा निन्दनीय छ ।’

उनको यो भनाइले सुन्दर विराटनगर बनाउने अभियानमा विराटनगरका व्यापारी बाधक बनेको संकेत गर्छ । विराटनगरलाई सुन्दर बनाउन भन्दै महानगरपालिको करिब २ महिना अगाडी देखि शुरु गरेको नो पार्किङ क्षेत्र अभियान अहिले आएर व्यापारीले शुक्रबारदेखि उल्लंघन गर्न थालेका छन् । बिहीबारसम्म सफादेखिएको विराटनगरको मेन रोड शुक्रबार भएको पार्किङपछि फेरी गाउँमा लाग्ने हाटबजार जस्तै हुन थालेको छ । विराटनगरका व्यवसायी मुकुन्द दाहाल व्यङ्ग्यात्मक शैलीमा लेख्छन्, ‘म जे छु तेहि अवस्थामा बस्छु, न म सुध्रन्छु न अरूलाई सुध्रन दिन्छु कसैले राम्रो गर्नखोजे प्रतिकार गर्छु ।’ मेन रोडका व्यापारीले ग्राहक मास्ने काम नो पार्किङको नाममा भएको बताएका छन्  ।

‘ग्राहक मास्न पाइँदैन,नो पार्किङ चाहिँदैन’ लेखिएको मोटरसाइकल नो पार्किङमा राखेर उल्लंघन गरेका थिए । महानगरपालिकाले मेनरोडको नो पार्किङ बनाएपछि त्यसको विकल्प दिएको थियो । पार्किङको विकल्प करिब ३ मिनेटको बिचमा विभिन्न ठाउँहरू विकल्प दिइएको महानगरपालिकाका मेयर नागेश कोइराला बताउँछन् ।

मेयर कोइरालाले नागरिकले चाहेभने नमान्न पाउने भएपनि विराटनगरलाई कस्तो बनाउने भन्ने दायित्व नगरवासीको पनि हुने बताए ।  महानगरपालिकाले नो पार्किङ  तोकिएको ठाउँमा यस अघि उपभोक्ताले मोटरसाइकल राखिए बापत पैसा तिर्नु पर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया

One thought on “विराटनगरमा व्यापारी शासन : राजनीति आडमा ‘नो पार्किङ’ उल्लंघन

  1. “सुंगुरलाई स्वर्ग जान्छस् भनेर सोध्दा त्यहाँ गुहु खान पाईन्छ र ?” भनेर प्रतिप्रश्न गर्थ्यो रे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *