पेचिलाे बन्दै भागबण्डा

विश्वासकाे मत लिएकाे २० दिन बित्याे, मन्त्री छान्न अझै असफल १० दल

काठमाडौँ । दोस्रो पटक विश्वासको पाएको २० दिन वितिसक्न लाग्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । ६ चैतमा ११ वटा दलको विश्वासको मत पाएका प्रधानमन्त्री दाहाललाई झण्डै दर्जन दलको झुण्ड नै सरकार विस्तारका लागि अवरोधको कारण बनेको छ ।

मन्त्रालय भागबण्डाका लागि दैनिकजसो बैठक बसिरहेको सत्ता सझेदार १० दल अझै कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । भाग नै नपुग्ने भएपछि विश्वासको मत दिएर सत्ता पक्ष बनेको रास्वपालाई सरकारमा सामेल नगरी १० दलको सत्ता गठबन्धन कायम गर्न खोज्दा पनि प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तारमा अझै सकस परिरहेको छ ।

उपराष्ट्रपतिको निर्वाचन भएको ३ चैतबाट नै १० दलीय गठबन्धनमा भागबण्डामा केन्द्रीय बैठक सुरु भएको थियो । गएको मंगलबारको गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले ९ पेज लामो सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त साझा कार्कक्रममा छलफल गरेर बुधबार बिहान पनि १० दलको बैठक बसेको थियो । उक्त दलहरुले आफ्नो आफ्नो अडान राखेपछि सहमति जुट्न सकेन ।

बुधबार नै दिउँसो ३ बजे पुनः बैठकमा बसे नेताहरु । तर, कुनै निचोड निस्किएन । यो बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा रहेका ९ दलले पाउने भागको खाका बुझाएर पार्टीलाई पठाए तर आप्नो पार्टीको भागमा परेको मन्त्रालयमा नै पार्टीले असन्तुष्टी जनाइरहेका छन् । आफैँ बसेर गरेको निर्णय नै दलहरुले मानेका छैनन् ।

बुधबार राति तयार पारिएको सत्ता साझेदार १० दलीय गठबन्धनमा मन्त्रिपरिषद् भागबण्डाको खाकाअनुसार कांग्रेसले ८, माओवादी ५, एकीकृत समाजवादी २, जसपा २, जनमत १, लोसपा १, नाउपा १, नेसपा १, आजपा प्रभु साहले १ मन्त्रालय पाउने भएका थिए ।

बुधबारको सल्लाहअनुसार बिहीबार बिहान ८ः३० बजे मन्त्रीहरु र मन्त्रालय पार्टीले टुङ्गो लगाएर दिउँसो प्रधानमन्त्री प्रचण्ड चितवन गएर आएपछि मन्त्रीपरिषद् विस्तार गर्ने सहमति भएको थियो । तर बिहीबार बिहान बसेको बैठकले पनि भागबण्डा टुंगो लगाउन सकेन ।

कतिपय पार्टीहरुले आफ्नो भागमा परेकै मन्त्रालयमा असन्टुष्टि मनाइरहेका छन् । उनीहरुले सच्याउनुपर्ने माग दाबी प्रस्तुत गरिरहेका छन् ।

त्यसो हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन सक्ने अवस्था छैन । गठबन्धनमा रहेका दलका एक नेताले भने, ‘भित्र बस्दा सबै कुरा मिलेको हुन्छ । बाहिर आएपछि कुरा फेरिन सुरु हुन्छ । पार्टीहरु मिलाउन गाह्रो छ ।’

प्रधानमन्त्रीले नाम माग्दा दिनै सक्दैनन् दलहरु ?

प्रधानमन्त्री प्रचण्डले बुधबार दिएको खाकाअनुसार बिहीबार बिहान पार्टीहरुको भागमा परेको मन्त्रालयका मन्त्रीहरुको नाम मागेका थिए । नेकपा एकीकृत समाजवादीले बुधबार बिहानै नाम बुझाएका थिए । तर गठबन्धनको ठुलो दल नेपाली कांग्रेसले भने हालसम्म पनि नाम बुझाउन नसकेको प्रधानमनत्री निकट स्रोत बताउँछ । यता कांग्रेस कार्यसम्पादन समितिको बिहीबार बिहान बसेको बैठकले मन्त्री छान्ने सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

तर हालसम्म पनि कांग्रेसले आफूले पाउने मन्त्रालयमा पठाउने नाम प्रभानमन्त्रीलाई बुझाउन सकेका छैन । गुट र उपगुट मिलाएर लानुपर्ने भएकाले कांग्रेसमा आकांक्षीको संख्या बढी छ ।

मन्त्री बन्ने चर्चामा रहेकी कांग्रेस नेत्री सीता गुरुङले भनिन्, ‘ठुलो पार्टीमा छलफल हुन्छ । कसले कुन मन्त्रालय लिने भन्ने फाइनल भएको छैन । जान चाँहि पूर्णबहादुर खड्काको नेतृत्वमा जाने भन्ने कुरा भएको छ ।’

नेता प्रदीप पौडेलले पनि कुनै फाइनल निष्कर्ष ननिस्किएको बताए । उनले भने, ‘छलफल भइरहखेको छ । अन्तिम निर्णयमा पुग्न लागिएको छ ।’

यता एक मन्त्रालय पाउन लागेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता क्षेष्ठले पनि आफूले पाउन लागेको वन मन्त्रालयप्रति असन्टुष्टि जनाएकी छन् । उनले मकालुखबरसँग भनिन्, ‘यो मन्त्रालय मेरो रुचिको क्षेत्रको होइन । वनमा म जान्न ।’

कसको-कसको भयो नाम फाइनल ?

१. माओवादीबाट नारायणकाजी श्रेष्ठ गृह मन्त्रालय
२. कांग्रेसबाट पुर्णवहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्रालय
३. काग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशशरण महत
४. एकीकृत समाजवादी प्रकाश ज्वाला भौतिक पूवर्धार
५. एकीकृत समाजवादी बेदुराम भुसाल शिक्षा, विज्ञान तथा प्रविधि
६. लोकतान्त्रिक समाजवादी पार्टी शरतसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
७. जनता समाजवादी पार्टीबाट अशोक राई शहरी विकास

यी नामहरु र मन्त्रालय फाइनल भएको पार्टीहरुले बताएका छन् । यता नेपाली कांग्रेसले स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेल पाउन सक्ने बताएको छ । यस्तै पराराष्ट्रमन्त्रालयमा धनराज गुरुङलाई पठाउन शेखर पक्षले जोड गरेको छ ।

यस्तै कांग्रेसबाट सीता गुरुङको नाम आए पनि मन्त्रालय फाइनल भएको छैन । यस्तै अन्य तीन मन्त्री र मन्त्रालयको नाम पनि फाइनल गर्न कांग्रेसले सकेको छैन ।

८ मन्त्रालय भागमा परेको कांग्रेसमा जीवन परियार, तेजुलाल चौधरी , एनपी साउद, डिगबहादुर लिम्बू, दीपक खड्का लगायतको नाम छ । निर्णय भने भएको छैन् ।

नेपाली कांग्रेसका नेता भिष्मराज आङ्देम्बेले भने, ‘अन्तिम निर्णय लिन केही समयमा लाग्ला । साथीहरुको नाम आइरहेको छ । सम्पूर्ण हिसाबले मिलाउनुपर्ने भएकाले ढिलो भएको हाे ।’ तर, कांग्रेसभित्रकाे भागबन्डा मिलाउन बिहीबार दिउँसाे देउवा निवास धुम्बाराहीमा बसेकाे बैठकले पनि कुनै निर्णय लिन सकेन ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार आफ्नो पार्टीबाट दुई मन्त्रीको नाम फाइनल गरेर प्रधानमन्त्रीलाई पठाएको बताए । उनले भने, ‘तीन वटा हाम्रो भागमा परेको छ । अब एक जनाको नाम दिन बाँकी छ ।’ यो एकजना एसबाट हुने राज्यमन्त्रीको रहेको एसले प्रष्ट पारेको छ ।

यस्तै जनमत पार्टीका अध्यक्ष उपेन्द्र यादपले आफूले पाउनुपर्ने एउटा मन्त्रालयमा छलफल हुन बाँकी रहेको बताए । उनले भने, ‘फाइनल भएको छैन् । सल्लाह गरिरहेका छौँ । अहिले मिटिङ छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *