पहिचानवादी आन्दोलनका मृतक लाजेहाङको शव अझै पोस्टमार्टम हुन सकेन

विराटनगर । कोशी प्रदेश खारेजको माग राख्दै आन्दोलन गरिरहेका पहिचानवादीहरू मध्ये मृत्यु भएका पदम लिम्बु (लाजेहाङ) को शव अझै उठ्न सकेको छैन । शवलाई पोस्टमार्टम गर्न नपाउँदा राज्यले गर्नुपर्ने कानुनी प्रक्रियाका कामहरू पनि हुन नसकेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधवार भएको सर्वपक्षीय छलफलको क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले लाजेहाङको शव पोस्टमार्टम हुन नसक्दा कानुनी प्रक्रियाबाट हुने धेरै कामहरू रोकिएको बताएका हुन् ।

‘मृत्यु भएपछि सुरुमा गर्नु पर्ने र राहत तथा क्षति पूर्ति दिने कुरामा पनि पोस्ट मार्टम नहुँदा सबै सरकारी काम कारबाही प्रभावित भएको छ, उनले भने, मैले आन्दोलनरत साथीहरूसँग यो बारेमा छलफल गरी रहेको छु, उहाँहरूले शव पोस्टमार्टम गर्ने वातावरण बनाउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

प्रमुख जिल्ला अधिकारी भट्टराई सहितको टोली बुधबार बिहानै लाजेहाङको परिवारलाई भेट्न पुगेको थियो । प्रदेश सभाबाट गत फागुन १७ गते कोशी प्रदेश नामाकरण पछि कोशी प्रदेशमा पहिचानवादीहरूले आन्दोलन गरिरहेका छन् । गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनको क्रममा घाइते भएका लाजेहाङ त्यसको २ दिन पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पुगेका थिए । उनको उपचारको क्रममा गत चैत १० गते मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

मृत्यु भएका लाजेहाङको शवको पोस्टमार्टम गर्ने वातावरण बनाइदिन प्रमुख जिल्ला अधिकारी भट्टराईले आन्दोलनरत पक्षसँग आग्रह गरेका छन् । पहिचानको आन्दोलनको क्रममा ज्यान गुमाएका लाजेहाङको शवको अझै पोस्ट मार्टम हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलको क्रममा सहभागी भएका पहिचानवादी संघ संस्थाका नेताहरूले कोशी प्रदेश नाम खारेज हुनु पर्ने, लाजेहाङलाई सहिद घोषणा गर्नु पर्ने तथा परिवारलाई उचित क्षतिपूर्ति सहित राहतको माग राखेका छन् ।

संघीय लिम्बुवान राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले दलहरूको सङ्कीर्ण सोचका कारण आन्दोलित हुनु परेको बताए । ‘अहिलेको आन्दोलन त्यतिकै रोकिँदैन, उनले भने, आजको स्वायत्तताको आन्दोलन भोलि स्वतन्त्रता तर्फ जान सक्छ राज्यले आजै ध्यान देओस् ।’

किराँत मोर्चाका महासचिव अर्जुन जम्नेली राईले पहिचानको आन्दोलनलाई प्रहरी प्रशासनले उत्तेजित नबनाउन आग्रह गरे । अहिलेसम्म प्रहरी प्रशासन संयमित देखिए पनि घटनाहरू बढ्दै गएको बताएका राईले लाजेहाङको मृत्युसँग जोडेर कोशी नामाकरण खारेजीको मागलाई कमजोर पार्न र सामान्य नठान्न उनले आग्रह गरे ।

चैत ५ गते मृत्यु भएको घटनाको बारेमा छानबिन गर्न गठित संघीय सरकारको छानबिन तथा वार्ता टोलीका संयोजक रामबन्धु सुवेदीले ५ गते भएको घटनाको निष्पक्ष छानबिन हुने बताए । संघीय सरकारले घटनाको बारेमा निष्पक्ष छानबिनको लागि समिति गठन गरेको जानकारी दिँदै उनले आन्दोलनरत पक्षहरूबाट उठेको मागलाई जस्ताको त्यस्तै सरकारलाई प्रतिवेदनको रूपमा बुझाइने बताए ।

सरकारले दिएको ७ दिनको समय सीमा भित्र नै छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने भएकोले अहिले टोलीले काम गरिरहेको जानकारी दिए । सर्वदलीय सर्वपक्षीय बैठकमा मोरङका सबै राजनीतिक दलहरू, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि र पत्रकारहरूलाई बोलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *