कोशीमा सरकार ढाल्न कसैले छिर्के हाने राप्रपा कुर्सीमै टाँसिएर बस्दैन : नेता सिटौला

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सकारको लागि गन्धा खेल नखेल्ने बताएका छन् । आफूलाई गन्धा खेलमा बिटुल्याउने प्रयास भए सरकारभन्दा बाहिरै बस्ने उनले बताएका छन् ।

मकालुखबरसँग कुरा गर्दै सिटौलाले अहिलेको सरकार छाड्नुपर्ने अवस्था आए सरकारभन्दा बाहिरै हुनसक्ने बताएका हुन् । पछिल्लो समय राप्रपालाई मुख्यमन्त्री दिने भन्दै कोशी प्रदेशमा नेपाली कांग्रेसले गृहकार्य थालेको भन्ने बारे सोधिएको प्रश्नमा सिटौलाले अहिलेसम्म मुख्यमन्त्री दिने वा लिने भन्ने बारेमा कुनै प्रस्ताव नै नआएको बताए ।

आन्तरिक रूपमा दलका नेताहरूसँग छलफल भइरहे पनि कुनै मुख्यमन्त्री वा मन्त्री दिने नदिनेबारे कुनै पनि कुरा नभएको सिटौलाको भनाइ छ ।

‘कसैले कांग्रेसले मुख्यमन्त्रीको ललिपप देखाउन हल्ला चलाइएको हो भने उसैले जानोस्,’ उनले भने, ‘कसैले ललिपप देखाउन खोजेको भरमा राप्रपाले निर्णय गर्दैन, बरु सरकार बाहिरै बस्छ ।’

सिटौलाका अनुसार अहिले भइरहेको चार दलको समर्थनको सरकार सबै दलहरूसँगै जान तयार रहेको बताए । चार दलहरू मध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाेले उसले असहयोग नगरीकन खुट्टा उचाल्ने अवस्था नभएकाे उनले बताए ।

‘कुनै अप्ठेरो अवस्था सिर्जना नभइकन म निस्कन्छु भन्ने हुँदैन,’ उनले भने, सँगै हिँडिरहेको सहकर्मीले छिर्के नहान्दासम्म खुट्टा उचाल्ने पक्षमा छैनौँ, कसैले छिर्के हानिहाले पनि हामी सत्ताकै लागि टाँसिएर बस्दैर्नौँ।’

केन्द्रमा संघीय गठबन्धन बनेर सत्ता समीकरण फेरबदल हुँदै त्यसको असर प्रदेशहरूमा पनि देखिन थाले पनि कोशी प्रदेशमा नेकपा एमालेको सरकार कसरी ढाल्न सकिन्छ भन्नेमा नेपाली कांग्रेस सहितका गठबन्धन दलहरू लागेका छन् । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन राप्रपालाई आफ्नो गठबन्धनमा ल्याउन प्रयास गरिरहेको बताइन्छ ।

कोशी प्रदेशमा राप्रपाले अहिलेसम्म नेकपा एमालेको गठबन्धन सरकारलाई साथ दिइरहेको अवस्था छ । नेकपा एमाले नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त सरकार बनेको छ । अहिलेको समीकरणभन्दा बाहिर गएर केन्द्रको समीकरणमा जाँदा सरकार बन्ने वा बनेको सरकारले विश्वासको मत पाउन सक्ने आधार नदेखिएको प्रदेश संसदीय दलका नेताहरू नै बताउँछन् ।

कोशी प्रदेशमा नेकपा एमालेको ४० सांसद रहेको छ ।

याे प्रदेशमा नेकपा माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, र जनता समाजवादी पार्टीका १ सांसद सम्मिलित सरकार बनेको छ । नेकपा एमालेको नेतृत्वको सरकार ढल्दा राप्रपाबाहेक कोशी प्रदेशमा सरकार बन्न सक्ने अवस्था छैन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा सहितको सांसद संख्या ४६ जना मात्र पुग्छ । राप्रपा र एमालेको संख्या ४६ जना मात्र हुने भएकोले बराबर सांसद हुँदा सरकार बन्ने वा विश्वासको मत पाउन सक्ने अवस्था छैन ।

राप्रपा संसदीय दलका नेता सिटौलाले सरकार ढाल्ने र बनाउने काम कसैबाट हुनु नहुने बताए । उनले राजनीति स्थायित्वका लागि अहिले भइरहेको सरकारलाई काम गर्न दिनुपर्नेमा जोड दिए । यसअघि पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अहिलेको सरकारलाई सहयोग गरेर जाने बताएका थिए । नेकपा माओवादीका कारण अहिलेको सरकार ढालेर मध्यावधि निर्वाचनमा जाने अवस्था आउन नदिने आङ्बोले दाबी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *