सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू) 

काठमाडौँ। काठमाडौँमा पाँच दिनसम्म मनाइने सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज (बुधबार) बाट सुरु भएको छ । आर्याअवलोकितेश्वरको नामबाट समेत चिनिने सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म खतमा राखेर त्यहाँ अवस्थित रथमा विधिपूर्वक विराजमान गराइसकेपछि औपचारिक रूपमा रथयात्रा सुरु भएको हो ।

आज पहिलो दिन रथलाई तीनधारा पाठशालाबाट तानेर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइएको छ। आज तीनधारादेखि असन सम्म महिलाहरूले रथ तानेका छन् । ०७५ सालबाट महिलाहरूको नेतृत्वमा रथ तान्न सुरु गरिएको हो ।

पाँच दिनसम्म चल्ने यस जात्रामा, जात्रा अवधिभर सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई रथमा राखी सहरको विभिन्न ठाउँको परिक्रमा गराइन्छ ।

परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठानी जनबहालमा स्थापना गरिएको किम्बदन्ती छ । सोही परम्परा अनुसार हालपनि मूर्ति फेला परेकै स्थान ‘जमल’ मै रथ बनाउने चलन छ ।

काठमाडौँ मछिन्द्रबहाल र काभ्रे नालाको सेतो अनि ललितपुर बुङमती र चोभारको रातोसहित चार वटा मत्स्येन्द्रनाथ छन् । सेतो मत्स्येन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्दै आएका छन् ।

तस्बिरहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *