फेरि मन्त्री बन्ने दौडमा कांग्रेस नेता दीपक गिरी

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का बेला पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी आफू मात्रै जित्न लागेनन् बरू आफ्नो जिल्ला र वरिपरि (साविक राप्तीका पाँच जिल्ला)मा गठबन्धनका उम्मेदवारलाई जिताउन उत्तिकै सक्रिय भूमिका खेले ।

त्यतिमात्रै नभएर चुनावकै बेला उनी सिङ्गो लुम्बिनी प्रदेशका अरू पनि जिल्लामा पुगेर पार्टी र गठबन्धनका उम्मेदवारहरूको हौसला बढाएका थिए । धेरै ठाउँमा गठबन्धनकै उम्मेदवारले पनि जिते । जिल्लामै पनि एमालेका ‘शक्तिशाली’ भनिएका नेताहरूलाई हराउँदै तत्कालीन गठबन्धनका उम्मेदवारहरूले चुनाव जिते ।

अहिले मन्त्रिपरिषद् विस्तारको तयारी चलिरहँदा गिरी फेरि मन्त्री बन्ने रेसमा छन् । तर नेपाली कांग्रेस आफैँले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याइसकेको छैन ।
गिरीले भने आफ्नो चाहना भए पनि पार्टीको निर्णयलाई भने स्वीकार गर्ने बताएका छन् ।

‘मन्त्रीका लागि आकांक्षीमात्रै होइन बलियो दाबेदार पनि हुँ,’ गिरी भन्छन् ‘तर परिस्थिति सबै पार्टीको हातमा छैन। सबै मिलेर सबैलाई मिलाएर सरकार चलाउनुपर्ने अवस्था छ । यस्तो पार्टीको निर्णय त स्वीकार गर्नैपर्छ नि ।’

तर पार्टीले न्यायसंगत निर्णय गर्ने अपेक्षा गिरीको छ। उनले पार्टीले सरकारमा पठाउने मन्त्रीमध्ये अनुभवीलाई प्रथामिकतामा राख्ने पनि बताए ।

‘यस्तो परिस्थितिमा पनि सरकारमा गएर केही गरेर देखाउने खालको मान्छेलाई लैजानुपर्छ । त्यसका लागि अनुभवी सांसदहरू चाहिन्छ भन्ने हो । पदाधिकारीहरूले त पार्टी र संगठनलाई चलायमान बनाउने पो हो ।’

पार्टीको दुवै समूहबाट गिरी सरकारमा जाने चर्चा छ। यद्यपि मन्त्रालयको भागबण्डाअनुसार पार्टीको आन्तरिक बाँडफाट पनि भइसकेको छैन । कोइराला समूह आफैँ पनि संस्थापन पक्षकै अनुपातमा आफ्नो समूहको प्रतिनिधत्व हुनुपर्ने अडानमा छ ।

चार दशकभन्दा लामो सक्रिय जीवन पार्टीमा बिताइसकेका गिरी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविबाट गिरफ्तारीमा परेका थिए । त्यो बेला उनी १३ वर्षका थिए । स्थानीय प्रशासनले उनलाई १३ दिनसम्म थुनामा राखेको थियो ।

त्यसपछि पनि २०३१ सालमा २९ दिन र २०३७ मा ५७ दिन थुनिएका थिए ।

६२ वर्षअघि पश्चिम दाङको सुकदेवामा जन्मिएका गिरी स्कुले जीवनमै व्यवस्था परिवर्तनको आन्दोलनमा होमिए र नेपाल विद्यार्थी संघमा हुँदै पार्टीको केन्द्रीय राजनीतिमा जर्वजस्त स्थान बनाउन सफल भए । २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएपछि पार्टी राजनीतिमा उनको रफ्तार तेज भयो ।

२०५१ सालदेखि पटक पटक प्रत्यक्ष चुनाव लडेका दीपक गिरीले २०७० सालमा भएको दोस्रो संविधानसभामा पहिलोचोटी चुनाव जिते । त्यसलगत्तै उनी सिचाईं मन्त्री पनि भए । त्यसअघि उनले पटक पटक पार्टीको केन्द्रीय सदस्य भएर सांगठिनक सक्रियता निकै बढाए ।

पार्टीको विवाद मिलाउन होस् वा संगठन विस्तार र सुदृढीकरण । त्यसका लागि उनी पूर्वदेखि पश्चिम नेपालका सबै जिल्लामा पार्टीको नेतृत्व गर्दै पुगिसकेका छन् ।

२०६४ सालको निर्वाचनमा भर्खरै शान्ति प्रक्रियामा आएको नेकपा माओवादीको लहर देशभरि फैलिएको थियो। त्यो बेलामा पनि चुनाव लडेर उनी झिनो मतले मात्रै पराजित भए । तर २०७० सालको चुनावमा पनि उनी एक्लैले मात्रै जितेनन् बरू जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताउन सक्रिय भए । त्यो चुनावमा दाङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए । २०७९ मंसिर ४ काे चुनावमा पनि उनले एमालेकी उम्मेदवार काेमल वलीलाई हराउँदै दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए ।

वि.सं. २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि काँग्रेस नेता गिरीसँग छ ।

२०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य हुँदै पार्टीको केन्द्रिय सदस्यको महत्वपूर्ण जिम्मेवारी बहन गरेका छन् ।
पदमा रहँदा होस् वा नुहँदा पनि विकासको अभियानमा गिरी सधैं सक्रिय भए । तुलसीपुरको राप्ती बबई क्याम्पस स्थापनाको अग्र भूमिकामा रहेका गिरी ९ महिना मन्त्री हुँदा पनि विकासका कामहरूलाई उत्तिकै गति दिए ।

सिंचाई मन्त्री हुँदा दाङमा उनले बृहत दाङ उपत्यका सिंचाई आयोजना सुरु गरेका थिए । सडक, यातायात, विद्युत, पुल निर्माण लगायतका क्षेत्रमा उनले काम गरेका छन् । दाङका करिब २०० बढी योजनाहरूमध्ये उनको निर्वाचन क्षेत्र पश्चिम दाङमा १०० भन्दा बढी विकासका योजना छन् ।

पार्टीभित्र अनि गुटगत राजनीतिमा गिरी खासै चतुर खेलाडी त होइनन् तर उनी कोइराला परिवारकै राजनीतिक संस्कारमा आफूलाई हुर्काएका नेता हुन् ।

‘म राजनीतिमा चतुर हुन जानिनँ,’ उनी पटक पटक भन्छन्, ‘मैले पार्टीभित्र खेल खेल्न जानेको भए यति पछि पर्ने थिइनँ । मसँगै राजनीति सुरु गरेका साथीहरू धेरै पटक शक्तिशाली मन्त्रालयसम्म पुगिसकेका छन् । म त भुँइको भुँइमै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *