सरकारमा सहभागीताबारे रास्वपा अझै अनिर्णित, निर्णय गर्ने अधिकार रविलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने/नहुने विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन । उसले १० पुसमा प्रधानमन्त्रीसँग गरेको सहमति अनुसार मिले मात्र सरकारमा जाने बताइरहेको छ ।

हाल १० दलीय गठबन्धनबाट मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । रास्वपा १० दलीय गठबन्धनमा छैन तर उसलाई प्रधानमन्त्रीले समेटेर लैजाने पक्षमा छन् ।

यसबारे रास्वपा उपसभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीले अहिलेसम्म सरकारमा जाने/नजाने बारे कुनै औपचारिक निर्णय नगरेको बताए ।

‘रास्वपाको विशेषता नै यही हो,’ उनले भने, ‘हामी अन्तिम अवस्थामा पनि सरकारमा जान आतिएका छैनाैँ । अब हाम्रो पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री ज्यूले छलफल गर्नुहुन्छ । हामी साबिकका मन्त्रालय पाए सरकारमा जाने हो । ६ महिनासम्म गैरसांसद पनि मन्त्री हुन पाउने भएकाले हामीलाई कुनै समस्या छैन । केही समयपछि हाम्रो निर्णय आउने छ । सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार सभापतिलाई दिएका छौँ ।’

यस्तै, रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले पनि रास्वपा सरकारमा जाने सम्भावना रहेको तर सरकारमा गए पनि गठबन्धनभन्दा बाहिर बस्ने बताए ।

‘हामी १० पुस देखि नै प्रधानमन्त्रीको पक्षमा रहँदै आएका छौँ,’ उनले भने, ‘हामी सरकारमा गएपनि गठबन्धनभन्दा बाहिर रहेर जाने हो । हामी पहिलेको अडानभन्दा पनि तलमाथि हुने छैन । प्रधानमन्त्रीले हाम्रो कुरा बुझ्नुभएको छ ।’

रास्वपाले यसअघि सात दलीय गठबन्धन हुँदा गृह मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय र स्वास्थ्य राज्य मन्त्रालय लिएको थियो । तर, यो पटक उसलाई ३ वटा मात्र मन्त्रालय पर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *