युरोकप छनोट : नेदरल्यान्ड्स, स्वीडेन, अष्ट्रिया, सर्विया र हंगेरी विजयी

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर नाथर एकेले दुई तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड मेम्फिस डिपाएले एक गोल गरेसँगै नेदरल्यान्ड्सले युरो २०२४ को छनोटमा पहिलो जित हात पारेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले १० ख्लाडीमा समेटिएको जिब्राल्टारमाथि ३–० को सहज जित हात पारेको हो ।

पहिलो जितसँगै समूह बि’को नेदरल्यान्ड्स दुई खेलबाट ३ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ । जिब्राल्टार दुई खेलबाटै अंकविहीन हुँदै पुछारमा छ । एक खेल खेलेको ग्रीस ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा आयरल्यान्डले पनि अंकको खाता खोल्न सकेको छैन । फ्रान्स ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

समूह ‘एफ’को खेलमा अष्ट्रिया र स्वीडेन विजयी भएका छन् । अष्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ को पूनरागमन जित निकालेको हो । अष्ट्रियाको जितमा फ्लोरिएन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गरे । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।

यही समूहको अर्काे खेलमा स्वीडेनले अजरवैजानमाथि ५–० को फराकिलो जित निकालेको छ । स्वीडेनको फराकिलो जितमा इमिल फोर्सवर्ग, भिक्टोर ग्योकेरेस, जस्पर कार्लसन र एन्टोनी इलांगाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

यस नतिजासँगै समूह ‘एफ’ मा अष्ट्रिया ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि बेल्जियम दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा रहेको छ । इस्टोनिया र अजरवैजान अंकविहीन छ ।

समूह ‘जी’मा सर्विया र हंगेरीले युरो २०२४ को छनोट खेलमा सहज जित हात पारेका छन् । सर्वियाले घरेलु टोली मोन्टेनेग्रोमाथि २–० को सहज जित हात पारेको हो । सर्वियाको जितमा दुवै गोल डुसान भ्लाहोभिचले गरे ।

यही समूहको अर्काे खेलमा हंगेरीले घरेलु मैदानमा बुल्गेरियालाई ३–० ले पराजित गरेको छ । हंगेरीको जितमा बालिन्ट भेसेई, डोमिनिक जोबोस्लाई र मार्टिन एडामले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो ।

यस नतिजासँगै समूह ‘जी’ मा सर्विया २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित मोन्टेनेग्रो ३ अंहसहित तेस्रो स्थानमा छ । समान ३ अंक रहेपनि हंगेरी गोलअन्तरमा दोस्रो स्थानमा छ । लिथुआनिया र बुल्गेरियाले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *