विराटनगर विराट गोल्डकपको फाइनलमा

विराटनगर। विराटनगर सिटी एफसी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सोमबार राति विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर फाइनलमा प्रवेश गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा विराटनगरका स्टेफन ब्याङगनलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले बचाउन खोज्दा फिर्ता आएको बललाई स्टेफनले गोलमा परिणत गरिदिएका थिए।

यस्तै खेलको ८७ औं मिनेटमा विमलकै पासमा अभिषेक गुरूङले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए। तर, खेलको अन्तिम समयमा सम्हालिन नसक्दा जावलाखेलले गोल फर्कायो।

जावलाखेलका लागि दोस्रो हाफको अतिरिक्त समयमा हिसुब थपलियाले सान्तवना गोल फर्काए पनि जित दिलाउन सकेनन्। खेलको म्यान अफ म्याच घोषित भएका विराटनगर सिटीका स्टेफन ब्याङगनले नगद ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल मंगलबार भारत केरलाको लुका सकर क्लब र साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *