चितवन-२ : रास्वपाका उम्मेदवारको तयारी तीव्र, केन्द्रको अन्तिम निर्णय कुर्दै कांग्रेस-एमाले

'गठबन्धनले आफ्ना उम्मेदवारलाई सहयोग गर्नेमा कांग्रेस ढुक्क'

काठमाडौँ । चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका छ । निर्वाचन आयोगले यसको तयारी सुरु गरेको छ । दलहरू पनि यसको तयारीमा लागिसकेका छन् । रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । तर लामिछानेले पुनः नागरिकता लिएर फेरि निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

हालको १० दलीय गठबन्धनमा कुनै परिवर्तन नआए नेपाली कांग्रेसका उम्मेदवारलाई नै गठबन्धनले मत दिने सम्भावना छ । यो क्षेत्रमा माओवादी, जसपा, एकीकृत समाजवादी र लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीले र राष्ट्रिय जनमोर्चाले एउटै उम्मेदवार उठाउने कुरामा छलफल भइरहेको छ । तर यसको औपचारिक निर्णय भने आएको छैन ।

गठबन्धनमा भएको सहमतिबारे जानकारी दिँदै माओवादीका स्थायी कमिटीका एक सदस्यले भने, ‘माओवादीले उम्मेदवार उठाउने कुरामा कुनै छलफल भएको छैन । गठबन्धनलाई नै अगाडि बढाएर लैजाने कुरा भएको छ । माओवादीले आफ्नो उम्मेदवार उठाउने छैन ।’

कांग्रेसबाट यसअघिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग हारेका उमेश श्रेष्ठ पछि हटेका छन् । तर कांग्रेस केन्द्रीय समितिले हालसम्म उम्मेदवार टुङ्गो लगाएको छैन । एक साता अगाडि बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले चितवनबाट उम्मेदवारको नाम जिल्लाले केन्द्रमा उपलब्ध गराउने र त्यहाँबाट छनोट गर्ने निर्णय भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । यो क्षेत्रमा ४ मंसिरको निर्वाचनमा रविसँग पराजितभएका उमेश श्रेष्ठले यसपालि आफू निर्वाचनमा नउठ्ने घोषणा गरिसकेका छन् ।

मकालु खबरसँग कुराकानीमा उनले भने- ‘हार्छु भनेर डराएको होइन । म यो उपनिर्वाचन उठ्दिन म समाजसेवामा लाग्छु । अरूलाई पालो दिने पक्षमा छु । पहिलादेखि पार्टीमा धेरै दुख गएर आएको मान्छे हो । यो पटक मलाई रहर नै छैन । मैले यो कुरा पार्टीमा समेत राखेको छु । त्यहाँका नयाँ मान्छे उठाउने कुरा छ ।’

यसअघि उनले सार्वजनिक रूपमै रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने भन्दै निर्वाचन आयोगलाई पत्र समेत लेखेका थिए । यद्यपि, उनको माग वैधानिक र नैतिक रूपमा समेत नमिल्दो देखिएपछि राजनीतिक वृत्तमा हास्यास्पद मात्र बनेको थियो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको नाम चर्चामा छ । उनलाई जिल्लाको टोलीले उठ्न सिफारिस गरिसकेको छ । उनी अब केन्द्रको फाइनल निर्णय पर्खिरहेका छन् । १० दलीय गठबन्धनबाट उनी आफू चुनाव जित्नेमा विश्वस्त छन् ।

‘जिल्लाको सिफारिस आएर केन्द्रीय कार्यालयमा बसेको छ,’ उनले भने, ‘सबै कुराको तयारी भइरहेको छ । मेरो क्षेत्र पनि यही भएकाले मलाई कुनै समस्या छैन । गठबन्धनको अवस्था अहिले राम्रो छ । यसअगाडि अरूले जितेका थिए होला तर सधैँ त्यही अवस्था हुँदैन । जनताको मन एकनास हुँदैन । हामीले आफ्ना नीति तथा कार्यक्रम लिएर जाने हो । हामी त्यही माटोमा काम गरिराखेका मान्छे हो । निर्वाचनको बेला मात्र झुल्किने हैन । त्यहाँका जनताको जीवनस्तर उकास्न हामी अगाडि लागेका छौँ । त्यो कारण यो पटक हामीलाई अत्यधिक मतले विजय गराउँछन् ।’

यता नेकपा एमालेले पनि दुई वटा नाम अगाडि सारेको छ । एमालेबाट चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र पूर्व सांसद तथा मंसिर ४ को निर्वाचनमा लामिछानेसँग पराजित भएका कृष्णभक्त पोखरेको नाम पनि चर्चामा छ । यसबारे एमालेले पनि निर्णय लिन सकेको छैन । एमाले पनि यी नामका सन्दर्भमा दुई धारहरू रहेका छन् । एमालेका युवा नेताहरूले पक्षले नयाँलाई अवसर दिनुपर्ने बताउँदै आएका छन् ।

यसबारे पोखरेलले मकालु खबरसँग भने, ‘हामी पार्टीको अभियानमा जुटेका छौँ । चितवन २ का जनताका प्रत्येक घर घरमा पनि हाम्रा साथीहरू पुगिरहनु भएको छ । यो पटक मैले उठ्ने धेरै मन बनाएको छैन । तर पार्टीले जे भन्छ त्यो मान्नुपर्छ । म तीन चोटि उठिसकेको छु । नयाँ साथीहरूलाई पालो दिऊँ भन्ने छ । २ चोटि जिते १ चोटि हारे हार्दा आत्तिएको पनि होइन । तर नयाँ साथीहरूलाई अवसर दिन पाए हुने भन्ने मेरो विचार छ । एमाले बलियो छ । यो पटक मज्जाले जितिन्छ । यो पटक पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेलाई दिऊ भन्ने मैले त कुरा गरिसकेको छु ।’

यस्तै न्यौपानेले पनि केन्द्रको निर्णय पर्खिरहेको बताएका छन् । उनले निर्वाचनका सन्दर्भमा आफूलाई केन्द्रले तयारी गर्ने ध्यान दिनु भनेको पनि बताए । उनले पोखरेलले पनि आफूलाई निर्वाचनमा उठ्न भनेर भनिरहेको बताए ।

उनले भने, ‘केन्द्रबाट फाइनल सर्कुलर आएको छैन । केन्द्रले पार्टी कमिटीभित्र नै छलफल गरिरहेको छ । जिल्ला अध्यक्ष उठ्दा राम्रो हुन्छ भनेर पनि कुराहरू आएका छन् । मेरो क्षेत्र पनि भएको हुनाले मलाई उठ्नुपर्छ भन्ने कुराहरू आएका छन् । पार्टीले जे भन्छ मान्ने हो व्यक्तिगत रूपमा इच्छा आंकाक्षा छैन । अहिले कार्यकर्ताको मनोभावना बुझ्ने काम भइरहेको छ । म परामर्श गरिरहेको छु । कृष्ण जी ले पनि मलाई उठ्नुहोस् भनेर भनिरहनु भएको छ । यहाँले पटक पटक म आउनुभन्दा नयाँ अनुहार आउनु राम्रो हो भन्नु भएको छ ।’

४ मंसिरको भन्दा बढी मतले जित्ने रास्वपाले दाबी गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने नै पुन उठ्ने योजनामा छन् । उनले यसअगाडिको निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी भन्दा नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४२८१ भोट बढी मत ल्याएर विजयी भएका थिए । उनले पुन उठेर त्यो भन्दा धेरै मत ल्याएर विजयी हुने बताउँदै आएका छन् । यसका लागि लामिछानेले सबै हिसाबले तयारी गरिरहेको उपसभापति डोलप्रसाद अर्यालले बताए ।

अर्यालले मकालु खबरसँग कुरा गर्दै भने, ‘तयारी भइरहेको छ । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि सम्पूर्ण रूपमा आफ्नो ध्यान उतै लगाएको छ । केन्द्र देखी जिल्लाका साथीहरूले पनि तयारी गरिरहनु भएको छ । अस्तिबाट नै हामी चितवनमा आउने जाने गरिरहेका छौँ । हाम्रो आन्तरिक तयारी राम्रो छ । पहिलाको भन्दा यहाँको जनतामा अझ जोस थपिएको छ । जनता हामीलाई जिताउन झनै हतारमा हुनुहुन्छ । पहिलाको भन्दा टोटल मत कम खस्ला तर हामीलाई आउने मत अझ बढेर जान्छ ।’

रास्वपा महामन्त्री मुकुल ढकालले पनि चितवन २ को उपनिर्वाचनमा आफ्नो पाटीका सभापति अत्यधिक मतले विजयी हुने बताउँछन् । उनी भन्छन्, ‘पहिलेको भन्दा अझ यो पटक रवि ज्यूको मत बढेर जान्छ । विजय नहुने त कुरै छैन ।’

उपनिर्वाचनका लागि चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने, चैत २० मा उम्मेदवारी दर्ता गर्ने, चैत २१ मा उम्मेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उम्मेदवारका अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको तयारी छ ।

हाल चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा १ लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने आयोगले बताएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ६ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो ।

मंसिर ४ को निर्वाचनमा ८३९५६ जनाले मतदाताले मतदान गरेका थिए । निर्वाचन आयोगको तथ्याङ्कअनुसार लामिछानेले ४९२६४ भोट पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १४९८३ मत प्राप्त गरेका थिए । भने नेकपा एमालेका पोखरेलले १४६६७ भोट ल्याएका थिए । लामिछानेले देशमै फराकिलो मतान्तरले विजयी भएका सांसद थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *