प्राकृतिक योग तथा चिकित्सा शिक्षा अध्ययन गराउने तयारीमा मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । रोग लागेर जीवभरि कमाएको धनराशि खर्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो । विश्वभरि प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्यालगर्दै दक्ष जनशक्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा  योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलले बताए ।

नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउनलागि नेपाल र भारतका विज्ञहरूबाट  धमाधम  पाठ्यक्रम निर्माण भइरहेको उनले जानकारी दिए । ‘पाठ्यक्रम निर्माणपछि तुरुन्तै अनुमतिप्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक र त्यसपछि क्रमशः स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी भइसेकेको छ,’ उनले भने, ‘नेपालमा रहेको दक्ष जनशक्तिको चरम अभावलाई  कम गर्न पहिलोपल्ट उच्चशिक्षाको पढाई मनमोहनले सुरु गर्न लागिएको छ ।’

रोग लागेर उपचारका लागि अस्पताल गएर जीवनभरि कष्टले कमाएको धनखर्च गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु उत्तम उपाय भएकोले प्राकृतिक स्वास्थ्यबारे विश्वविद्यालय तहमा पठनपाठन आवश्यक रहेको उनको भनाई छ । कोसी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफूहरूले प्रदेशका सबै विद्यालयमा योग शिक्षा लागू गर्न खोजेपनि दक्ष जनशक्तिको अभावले गर्दा सम्भव नभएको बताए ।  दक्ष जनशक्ति नेपालमा मात्र आवश्यक नभई विश्व बजारमा नै  अभाव रहेकोले त्यसलाई पनि ध्यान दिएर प्राकृतिक विज्ञान अहिलेको शिक्षाको आवश्यकता रहेको बताए ।

प्राकृतिक स्वास्थ्य विज्ञ डा जनक बस्नेतले दक्ष जनशक्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरूले दक्ष जनशक्तिको चरम अभाव झेल्नुपरिरहेको बताए ।  ‘हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरूले भारतबाट चिकित्सक र अन्य जनशक्तिहरू ल्याउन बाध्य भइरहनु परेको छ,’ उनले भने, ‘प्राकृतिक स्वास्थ्य शिक्षा पढ्न चाहनेहरूले भारत जान बाध्य भइरहनुपरेको छ ।’ काठमाडौँमा प्राकृतिक अस्पताल समेत सञ्चालन गरिरहेका डा बस्नेतका अनुसार  भारतमा ४० भन्दा बढी शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षा तहको पढाई भइरहेपनि नेपालमा विश्वविद्यालय मातहतमा अझैसम्म पठनपाठन सुरु हुन सकेको छैन ।

डाक्टर बस्नेतका अनुसार प्राकृतिक चिकित्साभित्र योग र उपचार मात्र नभएर विभिन्न नौ वटा दर्शनहरू रहेको उल्लेख गरे ।  प्राकृतिक चिकित्सा औषधि रहित उपचार गर्ने विकल्प रहित शिक्षा हो । प्राकृतिक स्वास्थ्य शिक्षाका लागि स्नातक तहमा पाँचबर्से पाठ्यक्रम आवश्यक पर्दछ ।  कोशी प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयमा हाल इन्जिनियरिङ तर्फ स्नातक तहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसैगरि पारामेडिकल तर्फ विभिन्न विषयमा स्नातक र स्नातकोत्तरमा पठनपाठन गराउनका लागि पाठ्यक्रम निर्माण भैसकेको छ ।   आगामी सत्रदेखि फार्मेसीतर्फ पठन पाठन शुरु हुने विश्वविद्यालयका उपकुलपति पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *