महानगरले ट्राफिक प्रहरीकै पार्किङ खाली गरायो

विराटनगर। मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गराएको छ।

महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको हो। ट्राफिक प्रहरी कार्यालयअगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि प्रमुख कोइराला आफैँ उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन लगाएकमा हुन्।

महानगर प्रहरीसहित पुगेका प्रमुख कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिएपछि सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैँले हटाएको थियो ।

कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौँदेखि राख्दै आएको थियो। महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई प्रमुख कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरे।

नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै प्रमुख कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरू लागेको सुनाए। “सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु। अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन,” प्रमुख कोइरालाले भने, “ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त ‘सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर साब’ भन्नुभयो । विराटनगरमा नियम कानुन सबैलाई बराबरी लाग्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने प्रतिबद्धता जनाए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *