कोशी प्रदेश सभा सदस्यका स्वकीयमा ज्वाइँ, छोरा, भतिज र देवर

विराटनगर । प्रदेश सभा सदस्यहरूले आफ्ना स्वकीय सचिव पदमा कसलाई राखेका होलान् ? यो प्रश्न सधैँ जस्तो नागरिकबाट आइरहने गर्छ । नागरिकले मत हालेर पठाएका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने हुन्छ । तर, प्रदेश सभा सदस्यहरू मतदाताप्रति कति उत्तरदायी छन् भन्ने कुरा पछिल्लो दुई कार्यकालका सांसदका स्वकीय नियुक्तिकाे प्रवृत्तिलाई हेरे पुग्छ ।

प्रदेश सभामा निर्वाचित भएर आएका प्रदेश सभा सदस्यहरुले शपथ लिएपछि एक जना नायब सुब्बा वा सो सरह सेवा सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर प्रदेश सभा सदस्यमा स्वकीय नियुक्त गरेको विवरण हरेक प्रदेश सभासदस्यले प्रदेश सभलाई जानकारी दिनु पर्ने व्यवस्था छ ।

स्वकीय राख्नेले त उक्त जानकारी दिने भए नै, नराख्नेले स्वकीय नियुक्तिको विवरण उपलब्ध गराउनु पर्दैन । प्रदेशसभाबाट सेवा सुविधा पाउनेगरी एक जनाबाहेक सबै सदस्यले स्वकीय सचिवको सुविधा लिएका छन् ।

कोशी प्रदेश सभामा कायम रहेको सदस्य संख्या ९३ जना मध्ये एकजना प्रदेश सभा सदस्य राम रानाले मात्र स्वकीय राखेका छैनन् ।

प्रदेश सभा सदस्यले आफ्नो स्वकीय नियुक्त गर्दा पनि आफन्त, परिवारका नाता पर्ने, छोरा, बुहारी, भदैनी, देवर तथा भदाहालाई नियुक्त गरेको पाइछ ।

प्रदेश सभा सचिवालयमा स्वकीयको नाम दर्ता नगराए पनि पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मन्त्रीको हैसियतमा पाउने स्वकीय सुविधा प्रयोग गरेका छन् ।

मकालु खबरले संसद सचिवालयबाट लिएको विवरण अनुसार कतिपय सांसदले आफन्त नातागोतालाई स्वकीय सचिवको रुपमा राखेको पुष्टि भएको छ ।

यी हुन् आफन्त स्वकीय राख्ने सांसद

झापाका सांसद भूमिप्रसाद राजवंशीका स्वकीय इन्द्र राजवंशी हुन् । ती सांसदका हरेक गतिविधिको रेकर्ड राख्ने काम यीनै इन्द्रले गर्दै आएका छन् । सांसद राजवंशीले भतिज इन्द्रलाई स्वकीय नियुक्त गरेका छन् ।

प्रदेश सभामा स्वकीयको नाममा पेश भएको विवरणमा भने द्रौपदी राजवंशीको नाम दर्ता छ । द्रौपदी राजवंशी आफ्नो श्रीमती भएको इन्द्रले बताए । श्रीमतीको नाममा स्वकीयको रूपमा आफूले काम गर्दै आएको उनी सुनाउँछन् । काम गर्ने र कागज बुझाउने काममा पनि नक्कली स्वकीय देखाएर सेवा सुविधा लिइरहेको पनि सांसदका स्वकीयसँगको कुराकानीले पुष्टि गरेको छ ।

सांसद खगेश्वरी पौडेलले आफ्नै बुहारीलाई स्वकीयमा नियुक्त गरेकी छिन् । उनले बुहारी अस्मिता तिम्सिनालाई नियुक्त गरेकी हुन् । प्रदेश सभा सदस्य पौडेल र स्वकीयबीचको नाता सम्बन्ध बारेमा जानकारी लिन स्वकीयलाई फोन गर्दा अस्मिताले आफू खगेश्वरीको बुहारी रहेको बताइन् ।

त्यस्तै कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले आफ्नै परिवारका ज्वाइँलाई स्वकीयमा जागिर खुवाएका छन् । मण्डलले एक मात्र ज्वाइँ गजराज मण्डललाई गत पुस ११ गते स्वकीयमा नियुक्त गरेका हुन् ।

‘तपाईँ त घर कै सदस्य हो नि हैन ?’, भनी सोधिएको प्रश्नमा उनले भने, ‘म उहाँको एक मात्र ज्वाइँ हुँ, मैले नै स्वकीयको रूपमा भूमिका गरेको छु ।’

४ सांसदले बनाए आफ्नै छोरालाई स्वकीय

आफ्ना छोरालाई स्वकीयमा नियुक्त गरेर जागिर खुवाउने ४ जना सांसद फेला परेका छन्। झापाका प्रदेश सभा सदस्य नम्बरलाल घिमाल, माेरङका उमाकान्त गौतम, सुनसरीका रोहितकुमार कार्की र उदयपुरका नारायण बुर्जा मगरले आआफ्ना छोरालाई आआफ्ना स्वकीय सचिव नियुक्त गरेका छन् ।

उमाकान्त गौतमले कान्छो छोरालाई स्वकीय सचिव बनाएर तलब खुवाएका छन् । गौतमले कान्छा छोरा प्रज्वलनलाई स्वकीय बनाएका हुन् ।

सुनसरीका प्रदेश सभा सदस्य रोहितकुमार कार्कीले आफ्नो एक मात्र छोरालाई स्वकीयमा नियुक्त गरेका छन् । उनले छोरा प्रह्लाद कार्कीलाई स्वकीयमा नियुक्त गरेको बताए ।

‘यो विषय सामान्य नै हो,’ उनले भने, ‘अर्कोलाई राख्न खोजेको थिएँ, उसको योग्यता नपुग्ने भएपछि मैले आफ्नो छोरालाई राखेको हुँ ।’

नारायण बुर्जा मगरले पहिलादेखि नै परिवारकै सदस्यलाई स्वकीय बनाउँदै आएका थिए । उनले दोस्रो प्रदेश सभाको निर्वाचनपछि आफ्ना माइलो छोरालाई स्वकीय नियुक्त गरेका हुन् । नारायण मगरले नियुक्त गरेका स्वकीय चित्रबहादुर बुर्जा मगर माइला छोरा भएको पाइएको छ ।

चित्रबहादुरले भने, ‘म माननीय ज्युको साखै माइलो छोरा हो ।’

नन्दलाल धिमालले आफ्ना एक मात्र छोरालाई नियुक्त गरेका छन् । उनले आफ्नो छोरा सूर्यप्रकाश धिमाललाई स्वकीयमा नियुक्त गरेको स्वीकार गरेका छन् ।

सुनसरीकी प्रदेश सभा सदस्य सुनिताकुमारी गुरुङले आफ्नै छोरी सुष्मा रामलाई स्वकीय नियुक्त गरेको पाइएको छ । स्वकीयमा नियुक्त भएकी सुष्माले माननीयको छोरी नभएको बताइन् ।

आफू बर्जुको भएको बताउँदै उनले राम भएकै कारण आमा छोरी नभएको भन्दै परिवार भित्रकै सम्बन्धबाट पन्छिन खोजिन् । तर उनले आफ्नो बुबाको नाम डोमी राम भएको बताइन् । डोमी राम प्रदेश सभा सदस्य सुनिताका श्रीमान् हुन् । सुष्मा डोमी रामकी जेठी श्रीमतीकी छोरी हुन् ।

सुष्माले सन् २०२२ डिसेम्बर २ तारिखमा आफ्नो फेसबुक पेजमा कांग्रेसको समानुपातिक सांसद भएकोमा ममीलाई बधाई भन्दै लेखेको तथ्य फेला परेको छ ।

देवर र भदाहा स्वकीय
प्रदेश सभा सदस्य सुनिता गच्छदारले आफ्ना देवारलाई स्वकीयमा नियुक्त गरेकी छिन् । गच्छदारका देवर जननीपति नाथ गच्छदार हुन् । उनी अहिले क्याम्पसमा पढ्छन् । उनका धेरै देवर मध्ये एकजनालाई स्वकीय बनाएको उनी निकट श्रोतले जनाएको छ ।

ललिताकुमारी चौधरीले दीपशिखालाई स्वकीय राखेकी छिन् । उनीहरू बिच फुपू भदैनीको सम्बन्ध छ । परिवारभित्रकै सदस्य भएको बारेमा जानकारी पाएर दीपशिखालाई यस बारेमा जानकारी लिन खोज्दा उनले छिमेकी आफन्त भएको भन्दै सम्बन्ध लुकाइन् ।

उदयपुरकी सांसद लिलाकुमारी राईले आफ्नै भदाहा भाइलाई स्वकीय बनाएकी छिन् । प्रदेश सभा सदस्य लिलाकुमारीका स्वकीय सुशील राईलाई उनीहरूको पारिवारिक सम्बन्धको बारेमा जानकारी लिँदा उनले आफू माननीय ज्यू को भदाहा भएको बताए ।

‘परिवारभित्र कै भन्दा पनि म उहाँको भदाहा पर्छु,’ उनले भने, ‘उहाँलाई मैले स्वकीयको रूपमा सहयोग गर्दै आएको छु।’

अर्की सांसद लखीकुमारी गणेश झापाकी सांसद हुन् । उनले आफ्नै परिवार भित्रको सदस्यलाई स्वकीयमा नियुक्त गरेकी छिन् । लखीकुमारीका स्वकीयमा सन्तोषप्रसाद गणेश हुन्। उनले आफूहरू परिवार भित्रको सदस्य भएको बताए ।

‘हामी परिवार भित्रकै सदस्य हो, उनले भने, मेरो दिदी हो, मैले स्वकीयको रूपमा भूमिका निभाउँदै आएको छु ।’

सेवा सुविधा
प्रदेश सभा सदस्यले स्वकीय नियुक्तको व्यवस्था प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार हुने गरेको छ । ऐनले व्यवस्था गरे अनुरूप प्रत्येक माननीय सदस्यले एक जना रापअनंकीत प्रथम श्रेणीको (नायव सुब्बा) सरहको एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको कोशी प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

‘योग्यता पुगेको व्यक्तिलाई प्रदेश सभा सदस्य स्वयंले नियुक्ति गरी प्रदेश सभा सचिवालयलाई जानकारी गराउने व्यवस्था छ,’ उनले भने, ‘सो को आधारमा सम्बन्धित नियुक्त भएको व्यक्तिको बैंक खातामा मासिक रूपमा प्रदेश सभा सचिवालयले पारिश्रमिक पठाउने गर्छ ।’

पहिलो प्रदेश सभाको कार्यकालमा प्रदेश सभा सदस्यले नियुक्त गरेका स्वकीय सचिवलाई तालिम दिन नसकिएपछि अहिले नियुक्त भएका स्वकीयलाई भने प्रदेश सभा सचिवालयले प्रशिक्षण दिने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

यस्ताे छ स्वकीय सचिवहरूकाे विवरण

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *