विद्यार्थी भिसामा १० महिनाअघि जापान पुगेकी आरती सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

टोकियो । जापानको ओसाकामा बस्दै आएकी आरती खनाल सम्पर्कविहीन भएकी छन् । यहि मार्च १७ तारिख (चैत ३ गते) साथीलाई ‘जाइरो कार्ड’ बनाउन जान्छु भनेर कोठाबाट निस्केकी उनी सम्पर्कविहीन भएकी हुन् ।

१० महिना अगाडि विद्यार्थी भिसामा आएकी चितवनको भरतपुर महानगरपालिका-१२ स्थायी घर भएकी २२ वर्षीया आरतीको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन् ।

उनी जापानको ओसाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १-३-२ मा बस्दै आएकी बताइएको छ । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुनासाथ खबर गर्न अनुरोध गरेका छन् । उनीहरूलाई नेपालमा ९८११ २४१९१२ र ९८२५२६६४८९ मा सम्पर्क गर्न सकिने छ ।

आरतीको खोजी कार्यमा एनआरएनए जापानकी उपाध्यक्ष संगीता अधिकारीले पहल भइरहेका बताएकी छिन् । ‘सबैतिर सूचनाको आदान-प्रदान भइरहेको छ,’ उनले भनिन् । पछिल्लो जानकारी अनुसार हराई रहेकी आरतीले आफूसँगै बस्ने साथीलाई आफ्नो जाइरो कार्ड हराएकोले बनाउन इमिग्रेशन निस्किएको बताएकी थिइन् । करिब ५ घण्टा पछि मेरो जाइरो कार्ड बन्यो भनेरसँगै बस्ने साथीलाई फोन आएको र फोनको ब्याट्री कम भएकोले मोबाइल अफ हुन सक्ने मोबाइलबाट भनेकी बताइएको छ ।

उनले आफूसँगै आफ्नो साइकल पनि लगेको बताइएको छ । एनआरएनए जापानकी उपाध्यक्ष अधिकारीले आरती बिरामी परेको तथा कुनै समस्यामा परेको पनि हुन सक्ने भएकोले कसैले जानकारी पाउनु भएका नजिकैको एनआरएनए अभियन्ता तथा नेपाली समुदायमा खबर गरिदिनुहुन अनुरोध गरेकी छिन् । ‘आरतीको बारेमा उनी पढ्दै गरेकी कलेजमा सम्पर्कमा छौँ । जापनिज प्रहरीसँग आरतीको नाममा रहेको साइकलको सम्पूर्ण कागजात बुझाइएको छ,’ उपाध्यक्ष अधिकारीले भनिन्, ‘जापानमा रहेको नेपाली दूतावासमा समेत समन्वय गरिरहेका छौँ ।’

चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले पनि सबैतिर समन्वय गरी खोजतलास भइरहेको बताए । ‘यस्तो समस्या विदेशमा जो कोहीलाई पनि आउन सक्छ, एक जुट भएर समस्याको समाधान गर्नपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *