बारा-२ मा उपनिर्वाचन : उपेन्द्र भर्सेज राजेन्द्र

काठमाडौं । बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा निर्वाचन आयोगले १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नेगरी आन्तरिक तयारीमा जुटेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले पनि छुटाछुटै उम्मेदवार उठाएर महतो र यादवलाई टक्कर दिने आन्तरिक तयारीमा जुटेका छन् ।

गत ४ मंसिरको निर्वाचनमा सर्लाहीबाट महतो र सप्तरीबाट यादव पराजित भएका थिए । महतो महेन्द्र यादवसंग र उपेन्द्र डा. सिके राउतसँग निर्वाचनमा पराजित भएका थिए । उनीहरूले बारा २ बाट उपनिर्वाचन जितेर संसद्मा प्रवेश गर्ने रणनीति बनाएका छन् । उता डा. राउत र साहले स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिने रणनीति बनाउँदै उम्मेदवार उठाउने तयारी गरेका छन् ।

लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहले बारा २ बाट पार्टीका वरिष्ठ नेता महतोलाई चुनाव लडाउने विषयमा पार्टीमा छलफल भइरहेको बताए ।

– जनमत र आजपाले स्थानीय नेतालाई टिकट दिने

– गत निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवारको छुटै गठबन्धन

– कलैयामा राजनीतिक चहलपहल बढयो

– सिके राउतले आमसभा गरेको एक दिनपछि उपेन्द्रले आमसभा गर्दै

– राजेन्द्र महतो, प्रभु साहको छुटाछुटै काउन्टर आमसभा गर्ने तयारी

जसपा राजनीतिक समितिका सदस्य प्रमोद गुप्ताले बारा २ बाट पार्टी अध्यक्ष यादवलाई नै उम्मेदवार बनाउने जानकारी दिए । पार्टीले केही दिनभित्रैमा निर्णय गर्ने उनले बताए । राष्ट्रिय राजनीति, मधेस आन्दोलनमा गरेको योगदानलगायतका विभिन्न कारणले यादवको आवश्यकता संसद्मा रहेको महसुस बाराका जनताले गरेको दाबी गुप्ताको छ ।

जनमत पार्टीका नेता बीपी साहले पार्टीले स्थानीय उम्मेदवारलाई उठाउने बताए । आजपाका प्रवक्ता सिवि साहका अनुसार उनको पार्टीले छिटै नै उम्मेदवारबारे टुंगो लगाउनेछ । पार्टीभित्र आन्तरिक छलफल भइरहेको भन्दै उनले स्थानीय उम्मेदवारलाई पार्टीले टिकट दिने योजना रहेको सुनाए ।

उता जनमत र आजपाले उम्मेदवार कसलाई बनाउने भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनन् । यद्यपि दुवै दलले स्थानीय नेतालाई उम्मेदवार बनाउने विषयमा पार्टीको आन्तरिक छलफलमै रहेका छन् । बारा २ मा लोसपा, जसपा, जनमत र आजपाको पकड बलियो रहेको छ । चारवटै दलले छुटाछुटै उम्मेदवार उठाउने र राष्ट्रिय एवं ठूला दलको समर्थन प्राप्त गर्न सत्तारूढ गठबन्धनभित्र आन्तरिक छलफल थालेका छन् । यी चारवटै दल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारूढ गठबन्धनभित्र रहेका छन् ।

रणनीति आ–आफ्नै
नेकपा एमाले र जसपा गठबन्धनको साझा उम्मेदवार बनेका रामसहाय यादव निर्वाचित भएका थिए । अहिले उनी उपराष्ट्रपति भएपछि साझा उम्मेदवार भएर संसद् प्रवेश रणनीति उपेन्द्रको रहेको छ ।

उपेन्द्रले बाराबाट निर्वाचित सरोज यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाए एवं जसपा अध्यक्ष बनाए । यसैबीच बारा २ बाट स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवलाई जसपामा भित्र्याए । अन्य स्वतन्त्र उम्मेदवारलाई समेत पार्टीमा भित्र्याउँदै उपेन्द्र निर्वाचन विजयी हुने रणनीतिमा छन् ।

उता बुधबार जनमत पार्टीले कलैयामा बृहत् आमसभाको आयोजना ग¥यो । आमसभालाई सम्बोधन गर्दै डा. सिके राउतले सप्तरीजस्तै बारामा पनि उपेन्द्रलाई पराजित गर्ने उद्घोष गरे । सप्तरीमा राउत र उपेन्द्रबीच प्रतिस्पर्धा भएको थियो ।

लोसपा र आजपाले समेत छिटै नै कलैयामा बृहत् आमसभा गर्ने आन्तरिक तयारीमा जुटेका छन् । जनमत र जसपालाई टक्कर दिनेगरी उनीहरू आमसभा गर्ने तयारी पार्टीको स्थानीय कमिटीले गरिरहेको छ ।

गत ४ मंसिरको निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेको उपराष्ट्रपतिमा निर्वाचित रामसहायले १३ हजार ८ सय २२ मत प्राप्त गरेर निर्वाचित भएका थिए । कांग्रेस–माओवादी सहित तत्कालीन पाँच दलीय गठबन्धनबाट माओवादीका उम्मेदवार शिवचन्द्र कुसवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर ११ हजार २ सय ५० मत, रोशन यादवले १० हजार ७ सय ५० मत र अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत पाएका पाएका थिए ।

स्वतन्त्र उम्मेदवारको छुटै गठबन्धन
गत निर्वाचनमा छुटाछुटै स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उम्मेदवारबीच समेत गठबन्धन बन्ने भएको छ । स्वतन्त्र उम्मेदवार रोशन, अरुण ज्ञवाली र माओवादीले पुनः टिकट नदिए शिवचन्द्रसहितका नेताले छुटै गठबन्धन बनाएर एउटा साझा उम्मेदवार उठाउने तयारी गरेका छन् ।

स्वतन्त्र उम्मेदवार रहेका रामकिशोर जसपामा प्रवेश गरिसकेका छन् । माओवादीले जसपालाई समर्थन गर्ने चर्चा चलिरहेका बेला जिल्लामा माओवादीबाट उम्मेदवार बनेका शिवचन्द्रले कुनै हालतमा उपेन्द्रलाई समर्थन नगर्ने निष्कर्षमा पगेका छन् । छुटाछुटै स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनेहरूले गठबन्धन बनाएर कुनै एकलाई पुन उम्मेदवार बनाउने र उपेन्द्र, राजेन्द्रलाई हराउने रणनीतिमा छन् ।

निर्वाचन आयोगका अनुसार बारा २ सहित तनहुँ र चितवनमा समेत १० वैशाखमै उपनिर्वाचन हुनेछ । तनहुँ र चितवनमा समेत उम्मेदवार हुन विभिन्न पार्टीबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *