‘कोशी’ नामकरणको विरोधको आन्दोलनमा घाइते लिम्बुको मृत्यु

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा गरिएको आन्दोलनको क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ । कोशी प्रदेशको नामकरणविरुद्ध गत चैत ५ गते विराटनगरमा पहिचान पक्षधरहरूले आन्दोलन गरेका थिए ।

आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको हो । प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो । गम्भीर घाइते भएका लिम्बुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान मृत्यु भएको पुनः नामकरण संघर्ष समितिका संयोजक प्रेम ऐक्तेनले जानकारी दिए ।

मोरङको लालभित्ती घर भएका उनी धरान १५ मा बस्दै आएका थिए । टाउकोको देब्रे पट्टी ब्रेनमा खुन जमेपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भनेका थिए । बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने भएकोले होस फर्कने प्रतीक्षा गर्दागर्दै उनको मृत्यु भएको उनले जानकारी दिए ।

पहिचानवादी समूहले नाम खारेज गर्न माग गर्दै प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेपछि सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बू घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *