४० बढी फुटबल खेलाडी बिदेसिए

काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए । सुजल र रन्जित बिहीबार नै अस्ट्रेलिया उडे भने सरोज शुक्रबार उड्दै छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरू विदेश पलायन हुनेक्रम रोकिएको छैन ।

माघको पहिलो साता राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई अस्ट्रेलिया भासिए । यू–१२ देखि राष्ट्रिय टोलीसम्मका उनका सहकर्मी सुजल श्रेष्ठले कठै मेरो देश ! उज्ज्वल भविष्य र सफलताको शुभकामना प्रियमित्र विशाल राई । भनेर बिदाई गरेका थिए ।

त्यसको ठीक दुई महिनापछि सुजलले पनि अस्ट्रेलियाको गन्तव्य रोजे । सुजलले पछिल्लोपटक नेपालमा गत ३० कात्तिकमा पाकिस्तानविरुद्धको खेल खेलेका थिए । सुजलले अस्ट्रेलिया उड्नुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

‘सम्पूर्णमा मेरो न्यानो नमन । ११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुशीका पल त केही दःुखका, कतै उपाधि त कतै निराश क्षण । यी सबै तीतामिठा सम्झना मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफनो सन्न्यास घोषणा गर्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने यो मेरा लागि उपयुक्त समय हो । अब पालो नया पुस्ताको हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन् २०१९ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टोली (यू–२३) ले स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठले १९ मार्च २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले ४५ खेलमा ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अस्ट्रेलियामा बेनी एफसीबाट खेल्ने योजनामा रहेका सुजलले स्वदेशमा क्लब फुटबललाई निरन्तरता दिने सम्भावना पनि रहेको बताए ।

एन्फा एकेडेमीका उत्पादन सुजल राष्ट्रिय टोलीको ठूलो सफलताका सदस्यसमेत हुन् । चोटका कारण सुजल गत वर्ष मैदानबाहिर रहनुपरेको थियो । उनकै कप्तानीमा मछिन्द्र फुटबल क्लब लगातार दुईपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो । मनाङ–मस्याङ्दी क्लबबाट पनि उनले दुईपटक नै सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि चुमे । २०७३ सालमा मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन बन्दा मकाउविरुद्धको फाइनलमा सुजलले नै गोल गरेका थिए ।

मनाङसँग झन्डै एक दशकको यात्राको अन्त्य गर्दै २०७६ सालमा सुजल मछिन्द्रमा आबद्ध भएका थिए । उत्कृष्ट प्रदर्शन गरिरहेका सुजल यस सिजनको लिगको अन्तिम खेलमा चोट बोक्न पुगेपछि उनी राष्ट्रिय टोलीमा समेटिन सकेनन् ।

खेलाडी बिदेसिनुमा नियमित रूपमा फुटबल नहुनु, पारिवारिक जिम्मेवारी बढ्नु र बिदेसिने ट्रेन दोषी भएको खेलकुदविज्ञ दिवाकारलाल आमात्य बताउँछन् । एन्फामा स्वार्थको राजनीति मौलाएका कारण पनि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन विदेश रोज्न थालेका छन् । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सँग फुटबल विकासको दीर्घकालीन योजना नै छैन । जसका कारण पछिल्लो समय प्रत्येक महिनाजसो खेलाडी बिदेसिएका समाचार बन्छ ।

हालसम्म ४० भन्दा बढी खेलाडीले सुरक्षित भविष्यको सपना बोकेर अस्ट्रेलिया, न्युजिल्यान्ड र दुबई पुगेका छन् । नेपाली फुटबल खेलाडीलाई अस्ट्रेलियाले किन आकर्षित र मोहित बनाइरहेको छ ? यसको सहज उत्तर छ । अस्ट्रेलियामा खेलसँगै राम्रो आम्दानी हुन्छ ।

फुटबल खेल्न जाने त माध्यम मात्र हो । उनीहरू त्यहाँ फुटबलसँगै काम गरी राम्रो धन आर्जन गर्ने लक्ष्यका साथ पुगेका देखिन्छन् । एन्फाले भने आफूखुशी बिदेसिने खेलाडीलाई रोक्न नसकिने बताउँदै आएको छ । उसले खेलाडी विदेशी ट्रेनको भने अध्ययन गर्न आवश्यक ठानेको देखिँदैन । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *