संघीयता कार्यान्वयनको अबस्था कमजोर छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको बताएका छन् । उनले केन्द्र अझै पनि अनुदार रहेको बताए । उनले संघीयता कार्यान्वयनमा जटिलता रहेको बताएका छन् ।

नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता : अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राजनीति भित्र ५० प्रतिशत संघीयता कार्यान्वायन भएको भएपनि प्रशासनिक रुपमा र बितिय रुपमा संघीयता कार्यान्वायनको अबस्था अत्यन्त कमजोर रहेको बताए। संघीयता राजनीतिक दलहरुले प्रदेशलाई कार्याकर्ता ब्यवस्थापनको रुपमा काम भएपनि निर्णय गर्ने कुरामा केन्द्रको निर्णय र निर्देशन नै हाबी हुने गरेको तथ्य सुनाए ।

प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको भन्दै मुख्यमन्त्री कार्कीले प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको बताए । उनले बितिय कार्यान्वायनको अबस्था १५ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गरे ।

‘आर्थिक क्षेत्रमा अहिले पनि १५ प्रतिशत पनि संघीयता कार्यान्वयन भएको छैन’, उनले भने, ‘केन्द्रीकृत मानसिकताका कारण पनि संघीयता कार्यान्वयनमा लैजान सकेको छैन।’

उनले निजामती कर्मचारीको मानशिकता अहिलेपनि केन्द्रीकृत नै रहेको गुनासो गरे । ‘शिक्षा ऐन, प्रहरी ऐन, निजामती कर्मचारी ऐन नआउनु पनि संघीयता कार्यान्वयनमा समस्या हुनु हो’, उनले भने, ‘संघका मन्त्रीहरू प्रदेशमा आएर कर्मचारीलाई निर्देशन दिइरहेका हुन्छन् । हामीलाई थाहासम्म हुन्न ।’

प्रदेशका सचिवहरू संघअन्तर्गत भएका कारण पनि संघीयता कार्यान्वयन पूर्ण रूपमा हुन नसकेको मुख्यमन्त्री कार्कीको भनाई छ । संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत रहेको उनको भनाइ छ । विकासे मन्त्रालयहरु प्रदेशमा राखेर केन्द्रमा १० वटा जति मन्त्रालय बनाउँदा त्यसले संघीयतालाई बलियो बनाउन भुमिका खेल्ने मुख्यमन्त्री कार्कीको भनाई छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *