३२ महिनादेखि अलपत्र ‘काठमाडौँ प्लाजा’ महानगरले भाडामा लियो, अब एकै ठाउँबाट सेवा 

काठमाडौँ । करिब ३२ महिनादेखि अलपत्र अवस्थामा रहेको कमलादीस्थित ‘काठमाडौँ प्लाजा’को भवन भाडामा लागेको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको भवन काठमाडौँ महानगरपालिकाले १० वर्षसम्मका लागि भाडामा लिएको हो ।

भवन भाडामा लिने/दिने सम्बन्धमा ट्रस्टको कार्यालय र महानगरबीच बुधबार हस्ताक्षर भएको छ । ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सम्झौतामा हस्ताक्षर गरे । काठमाडौँ महानगरले ट्रस्टलाई मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको छ । ९ चैतदेखि लागू हुने भाडा पाँच वर्षपछि १० प्रतिशतका दरले वृद्धि हुने छ ।

काठमाडौँ प्लाजाको भवन खाली गरेर महानगरलाई भाडामा दिने सम्बन्धमा वैशाख २०७७ मै निर्णय भएको थियो । भवन ठेक्कामा लिएर भाडामा लगाउँदै आएको कन्सेप्ट डेभलपर्स प्रालिसँगको सम्झौता असार २०७७ मै रद्द गरिएको थियो ।

तर, कन्सेप्टल डेभलपर्सले भवन आफूले भाडामा लगाउन पाउनुपर्ने भन्दै अदालती प्रक्रियामा गएकाे थियाे । त्यहाँ व्यवसाय गरेर बसेका व्यापारीले अवैध रूपमा भवन कब्जा गरेर बसेपछि ट्रष्टको कार्यालयले वैशाख २०७८ मा पुलिसको सहयोगमा भवन खाली गराएको थियो ।

जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुगेको कन्सेप्ट डेभलपर्सको प्रालीको मुद्दा किनारा लागेको छ । कन्सेप्टले भवन आफूले नै भाडामा पाउनुपर्ने भन्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएसँग भवन भाडमा लगाउने बाटो खुलेको हो । २६ माघमा सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने सम्झौता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *